Monday, August 10, 2015

यौनकर्मी महिलाको बयान: व्यथा र बाध्यता

‘मलाई थाहा छ, मेरो शरीर किन्ने कोही छैन, अनि मसँग बेच्नलायकको पनि केही छैन ! तैपनि मैले आफ्नो शरीरलाई जबर्जस्ती लिलामीमा राखेकै छु। सधैं यो सडकमा आउँछु, लौन मेरो शरीर सय/पचासमा भए पनि किनिदेऊ भनी बिन्ती गर्छु। कसैले त सय—पचास हैन, हजार नै दिन्छन् ! तर कोही त मसँग रातभरि सुत्छन् र मेरो गोजीमा भएको सय—पचास पनि लुटेर भाग्छन् !’
यो व्यथा हो, यो सहरकी एक यौनकर्मी महिलाको जो दस वर्षदेखि काठमाडौं सहरमा आफ्नो शरीर लिलामीमा राखिरहेकी छन्। सहरका दर्जनौं यौनकर्मी महिलाहरूसँग साक्षात्कार गर्ने क्रममा भेटिएकी एक पात्र सुन्दरी नेपाल (नाम परिवर्तन), वर्ष ५५ की यी महिलासँग अब बन्ने संविधानमा कानुनले के कस्तो व्यवस्था गरिदिए हुन्थ्यो भन्ने लाग्छ भन्ने सवालमा छलफल हुँदै थियो। छलफलको क्रममा कानुन, सरकार तथा समाजको कुरा आउने बित्तिकै उनी एक्कासि भक्कानिइन्। उनी आफू मात्र रोइनन्, उपस्थित सबैका आँखा रसाए र म पनि उनको व्यथा र बाध्यताबाट नि:शब्द भएँ। मलाई उनको वेदनाले यतिसम्म छोयो कि यो लेख नलेखीकन चैनले बस्नै सकिनँ। उनको कथा :

मेरो नाम सुन्दरी नेपाल हो। यो सालले ठ्याक्कै म ५४ पुगेर ५५ वर्षमा लागेँ। मेरो माइती सुदूरपश्चिम र घरचाहिँ मध्यपश्चिमको पहाडी गाउँमा पर्छ। मेरो बाह्र वर्षमा बिहे भयो, जुन बेला मेरो रजस्वला पनि भएको थिएन। मेरो बिहे हुँदा मेरो श्रीमान्को उमेर २२ वर्ष थियो। उनी इन्डियाका लाहुरे थिए। बिहे भएको साल पनि उनी मलाई भित्र्याएर लाहुर गए। घरमा आँखा नदेख्ने सासू, कान नसुन्ने ससुरा र पाँचजना नन्द थिए। म त्यो घरमा बुहारीको रूपमा भित्रिएदेखि नै बुहार्तन खेप्नुपर्‍यो। बिहानै तीन बजे उठ्नु, झन्डै बीस—तीस मिनेट हिँडेर गोठ पुगेर भैंसीको गोबर सोहोर्नु, घाँस काट्नु, खोले खुवाउनु र उज्यालो हुँदा त आफूभन्दा अग्लो घाँसको भारी बोकेर घरमा आउनुपथ्र्यो र वृद्ध सासूससुरा तथा मेरै उमेरका र मभन्दा साना पाँचजना नन्दहरूको लागि पकाउने, खुवाउने र मेलापात जाने काम गर्नुपथ्र्यो। बेलुकी मेलापातबाट थकाइले लखतरान भएर आउँदा पनि चुलोमा आगो बलेको हुँदैनथ्यो। हतारहतार आगो बालेर खाना तयार पार्दा रातको १० बज्थ्यो। चुलोमा बालेका चिसो दाउराको कारण घरभरि आएको धुवाँबाट निस्सासिएकी मलाई ससुराको तिखो वचनले झन् उकुस—मुकुस बनाउँथ्यो। भान्साको काम सक्दा रातको १२ बज्थ्यो। कतिपटक रछ्यानमा नै निदाउन खोज्थेँ। फेरि सासूको गोडामा तेल नलगाई सुत्न पाइन्नथ्यो र बिहान ४ बजे नै उठ्नुपर्थ्यो।

अर्को साल श्रीमान् लाहुरबाट फर्किएपछि म १३ वर्षमै गर्भवती भएँ र पहिलो सन्तान छोरा जन्मियो। क्रमश: ३ वटा छोरा भए। श्रीमान्ले इन्डियाभन्दा काठमाडौं जानु ठीक सम्झे क्यारे† उनी रोजगारीको लागि काठमाडौं हान्निए। चाडपर्वमा घर आउजाउ गर्थे। २०५८ सालमा काठमाडौंबाट छिमेकीको घरमा फोन गयो, इलेक्ट्रिसियन काम गर्ने क्रममा करेन्ट लागेर श्रीमान्को मृत्यु भयो† जेठो छोरा पनि सहरमै बाबुसँगै बस्थ्यो। काजकिरिया सकेर छोरा काठमाडौं फर्कियो। केही समयपछि उसले काठमाडौंमै विवाह गरेको खबर पठायो। अब घरखर्च सबै मैले नै मेलापात गरेर टार्नुपर्ने भयो। आम्दानीको स्रोत केही थिएन। यतिकैमा एकजना छिमेकी ससुरा पर्नेले गाविसबाट विधवा भत्ता पाइन्छ। त्यसको लागि मृत्युदर्ता प्रमाणपत्र चाहिने भएकाले जुन अस्पतालमा उहाँको मृत्यु भएको थियो, त्यहींबाट मृत्युदर्ता प्रमाणपत्र ल्याउन सुझाए। उनकै सुझावअनुसार म पहिलोपटक काठमाडौं आएँ र छोराले बताए अनुसारको अस्पताल पुगेँ। अस्पतालमा बुझ्दा मृत्युदर्ता प्रमाणपत्र त अस्पतालबाट लास लैजाँदा बखत नै सँगै दिएको बताए। श्रीमान्को मृत्युदर्ता प्रमाणपत्र लगेर २/४ सय भए पनि विधवा भत्ता लिएर घरखर्च हलुको पार्न सकिन्छ कि भन्ने कत्रो आस थियो। अस्पतालबाट पहिले नै लगिसकेको भन्ने थाहा पाएर थचक्क भुइँमा बसेर रुन थालेछु। मैले रोएको देखेर एकजना कर्मचारीले मिति थाहा छ भने एकपटक रेकर्ड हेरिदिने झिनो आशा देखाउँदै सम्बन्धित कर्मचारी बाहिर गएकाले केही समय कुर्नुस् भने। म अस्पतालको ढोकै छेउको बेन्चमा उनै कर्मचारीको तीव्र प्रतीक्षा गरेर बसिरहेको थिएँ। अस्पतालमा बाहिर र भित्र जानेको ओहोर—दोहोर चलिरहेको थियो।

त्यतिकैमा ३०/३५ वर्षकी महिलाले एउटा झोला छेउमा राख्दै भनिन्, ‘दिदी एकैछिन यो झोला यहीं राख्छु है, म रगतको रिपोर्ट लिएर आइहाल्छु’। मैले हुन्छ भनेर टाउको हल्लाउन पनि नभ्याउँदै ती महिला त पर पुगिसकेकी थिइन्। झन्डै आधा घन्टा बितिसकेको थियो, तर झोला राख्ने महिला आइनन्। झोला यही टेबुलमुनि राख्दिन्छु र मचाहिँ भित्र बुझेर आउँछु भनेर झोला उचालेको त झोलाभित्र बच्चा रोएको जस्तो सुनँे। एकैछिनमा हल्लीखल्ली भयो। यो बच्चा कसको हो? किन, कसले छोड्यो यसरी? कस्ती पापिनी आमा† आदिइत्यादि सुनियो। बिस्तारै कालो सलले बेरिएको तर सालनालसहितको त्यो बच्चीलाई हेर्नेको भीड जम्मा भयो।

भीडमा कसैले छोरा भए म लान्थेँ, छोरी त के लानु† भनेर नाक खुम्च्याए। बेलुकी ४ बजेसम्म बच्चीकी आमा आउँछिन् कि भनी पर्खिएँ। उनी आइनन्। अरूले पनि वास्ता गरेनन्। त्यो अबोध शिशुलाई त्यत्तिकै फाल्न सकिनँ। आफ्नो कोखबाट छोरामात्र जन्मिएका थिए। भगवान्ले छोरी उपहार दिएको ठानी शिशुलाई काखी च्यापी छोराको कोठा गएँ। छोरा, बुहारीलाई सविस्तार घटना बताउनै नभ्याई उनीहरूले ‘धेरै नाटक नगर। यो बच्चा कुनचाहिँ नाठोको हो, हामीलाई भन। अस्पतालमा भेटिएको बच्चा अस्पतालले राख्दैन र? बालगृह नपठाएर कसरी तिमीलाई पठाउँछ?’ भनी मलाई जबर्जस्ती आफ्नै अवैध बच्चा स्वीकार गर भन्न थाले। छोराबुहारीको यस्तो व्यवहार देखेर म त छाँगाबाट
खसेँजस्तै भएँ।
 हे भगवान् ! १२ वर्षकी हुँदा बुबाआमाले छानेर दिएको श्रीमान्बाहेक पुरुष नामको अन्य व्यक्तिलाई छुँदा पनि नछोएको मलाई आफ्नै कोखबाट जन्मिएको छोराले कुन नाठोका पेट बोकेर यो बुढेसकालमा बच्चा जन्माएको भन्ने प्रश्न गर्‍यो। अस्पतालमा गएर बुझ् भन्दा पनि नमानी ‘हामीलाई कुनै स्पष्टीकरण चाहिएन। खुरुक्क जुन बाटो आएकी थियौ, त्यही बाटो जाऊ’ भन्दै धकेले। एक हातले बच्ची च्यापेर अर्को हातले आँसु पुछ्दै निस्किएँ। काठमाडौंमा म पहिलोपटक आएकी कहाँ जाने? के गर्ने? केही मेसो थिएन। रुँदैरुँदै म त मैतीदेवी भन्ने ठाउँमा पुगेछु। बाटोमा मकै पोल्दै बेच्ने एकजना अधबैंसे दिदीलाई सारा वृत्तान्त सुनाएँ। बरु तिनको हृदय पग्लियो, उनले आफूसँगै उनको कोठामा लगिन्। त्यो बच्चीलाई खुवाउने ल्याक्टो दूध, दूधदानी र एकजोर भोटो, टोपी किनिदिइन्। भोलिपल्ट बिहानै बच्ची लिएर हिडेँ, कहाँ जान हिँडेकी हुँ आफैंलाई पनि थाहा थिएन। फेरि न छोराबुहारीको मन पलायो कि भनेर एउटा पसलबाट फोन गरेँ। तर छोराले ‘अझै ज्युँदै छेस्, कुन मुखले फोन गर्ने आँट गरिस्’ भन्यो। म फेरि त्यही पसलमा थचक्क बसेर रुन थालेछु। पसले भाइले मेरोबारे जान्ने मन गरे। मैले सविस्तार बताएँ। उनले आफ्नो घरमा लुगा धुने, भाँडा माझ्ने मान्छे चाहिएको छ भन्दै काम गर्ने अफर गरे। मैले सहर्ष स्वीकारेँ र काम गर्न थालेँ। तर भर्खरै जन्मेकी बच्ची आमाको दूध नपाएर २४ सै घन्टा रुन्थी। बच्चीको रुवाइबाट दिक्क भएका ती साहुले मलाई बच्ची प्रहरीको जिम्मा लगाएर आए वा उही अस्पतालमा छोडे मात्रै काममा राख्न सकिने बताए। तर मेरो मनले यो बच्ची भगवान्ले मलाई नै दिएको हो भनिरह्यो र त्यो घर पनि छोडेँ।

त्यही घरमा धारा, बत्ती मर्मत गर्न आउने एकजना भाइको सहयोगले मैले यो सहरको खुला आकाशमुनि आफ्नो शरीर लिलामीमा राखेँ। मरेको लासजस्तै गरी परपुरुषको यौनतृष्ण मेटाउनुपर्दा धेरैपटक आत्महत्या गर्ने विचार पनि आयो। तर आफ्नै जन्म दिने आमाबाट फालिएकी यो छोरी र आफूले जन्माएको छोराबाट त्यागिएकी मबीच केही भिन्नता देखिनँ। हामी दुवै जनाको भाग्य एउटै रहेछ भन्ने सम्झिएँ। अब जति वर्ष बाँच्छु, यही छोरीका लागि बाँच्छु र जे गर्नु छ यही छोरीका लागि गर्छु भनी प्रण गर्दै छोरीका लागि बाँचिरहेकी छु। म कसैले एक रातको एक करोड दिन्छु भन्यो भने पनि रात बस्नेगरी कहीं जान्नँ, किनकि मलाई कसैको विश्वास लाग्दैन।

अहिले मेरी छोरी १० वर्षकी भई। बोर्डिङमा ३ कक्षामा पढ्छे। उसैको फी, कपीकलम, रासनपानी, औषधि—उपचार गर्नका लागि मैले यो उमेरमा आफ्नो शरीर लिलामीमा राखेको छु। तर यो समाज, यो कानुन र सरकारले सधैं मलाई गैरकानुनी काम गरेको भन्दै लखेट्छ, हेप्छ, छि:छि र दुरदुर गर्छ। म जस्तो बाध्यतावश यौनकार्य गर्नेलाई खै त कुन सरकारले हेर्‍यो? म पनि यही समाजको एक हिस्सा हुँ। एउटी आमाबाट परित्यक्त नवजात शिशुलाई सास भर्नु मेरो दोष थियो र? आफूले नौ महिना गर्भमा राखेर जन्माएको, हुर्काएको छोराले त मलाई ‘वेश्या’ भन्यो। त्यसैले मलाई कुनै सरकार, समाज वा कानुनसँग विश्वास छैन।

यो कथा सुनाएपछि उनी भक्कानिन थालिन्।www.ekantipur.com

Write Comment Below:

No comments:

Post a Comment