Saturday, August 29, 2015

कम्‍युनिष्ट युद्ध कपटी हुँदो रहेछ'

छापामार युवाको डायरी
बिहान ७ बजे इलाम सदरमुकामको लिस्नु क्याफेमा पुग्दा उनी भेटिएनन् । एक कप चिया पिएर उनलाई पर्खने बहाना खोजियो । ८ बज्नै लाग्दा सधैंजस्तै मुस्काउँदै आएका उनमा थकान थिएन। कर्मप्रतिको मोह मौलाइरहेका थियो । माओवादी सेनाको रूपमा एक दर्जन ठूला लडाइँ भ्याएका दिपेन राईले कुराको मेसो झिके, ‘बिहान दुई घन्टा ड्राइभिङ सिकाउने गरेको छु, तपाईंलाई कुराएँ है।'



उनमा युद्धताकाको लडाकु हैकम सकिएको छ। युद्धमा सिकेका राम्रा कुरामात्र बोकेर उद्यमको बाटोमा लम्केको पाँच वर्ष पार गरेछ । दुई वर्षअघि सात लाख रुपैयाँमा सुरु गरेको लिस्नु क्याफेको पछिल्लो कोठामा बसेर युद्ध र उद्यमको कहानी सुरु गरियो।


चमैताको चित्रेमा एसएलसी पास गरेर बसेका दिपेन उसबेला १३ वर्षका मात्र थिए। त्यसताका दुर्गम चमैता-८ का साथीभाइ सबै बन्दुक समाउने भइसकेका थिए। २०५९ सालको अन्त्यतिर साथीहरूकै करमा ‘पुरानो सत्ता ढाल्ने मार्गमा हिँडेछन्। सुनाए, ‘पहिले केही बुझेको थिइनँ, पछिमात्र अलिअलि बुझियो।'

उनी माओवादीको कार्यकर्ता बन्दा युद्ध चर्केको थियो । जिल्लामा कान्छा लावती र धीरेन शर्माहरू नेता थिए। उनले चिनेका पनि तिनै थिए। जनमिलिसियाबाट प्रवेश गरेका उनी एक वर्षमै सेनामा प्रवेश गरे। त्यति बेला पन्ध्र वर्ष लागेका मात्र थिए।

उनले तालिम, हतियार र युद्धकला सेनामै सिके। कठिन तालिममा सफलता पाउन सहज थिएन। तर कडा मेहनतका साथ गुरिल्ला युद्धकला सिक्नुपर्ने कोर्स पूरा गरे । सम्झन्छन्, ‘सेनालाई ६ महिनामा सिकाइने कोर्स हामीले सात दिनमा पूरा गर्नुपर्थ्यो।'


कडा अनुशासन र निरन्तरको स्कुलिङले उनीहरूलाई मृत्यु जितेको मान्छेजस्तै बनाइदिएको थियो। 'डर कहिल्यै लागेन, आए ठोकिन्छ भन्ने थियो', उनले भने,‘ पछि त पश्चिमा हतियार पनि आएपछि असुरक्षित कहिल्यै महसुस भएन।'

पछि उनलाई सहरमा बसेर सेनाको जासुसी गर्ने जिम्मा दिइयो। उसबेला पूर्वमा १५ जनामात्र उनीजस्ता कार्यकर्ता थिए । उनको काम सेनाको दैनिक क्रियाकलाप, हतियारको तथ्यांक जम्मा गर्ने र युद्धका लागि नक्सा तयार गर्ने थियो।

झापाको बिर्तामोड र सुरुंगामा आक्रमण गर्दा उनले नै पहिलो चरणको तयारी गरेका रहेछन्। मर्नभन्दा पनि देश जित्न हिँडेका उनीहरूलाई मृत्युसँग डर लाग्दैन थियो। 'युद्धमा जाँदा हौसला हुने गरेको, स्कुलिङ नै त्यस्तै हुने गरेको थियो', उनले भने, 'युद्धमा जान नपाउँदाचाहिँ निराशा हुने गरेको थियो।'

शान्ति सम्झौता नजिक आउँदा सेना गलेको उनीहरूको आकलन थियो । झापाको सुरुंगा हान्दा राजधानीको थानकोट हानिसकेकाले सेनामा पनि लड्ने मोह हराएको उनको विश्लेषण छ।

धरानको भानुचोकको प्रहरी बिट र बिर्तामोडमा एकैसाथ लडेको लडाइँ नै उनका लागि अन्तिम लडाइँ बन्यो। त्यस बखत उनी धरानको मोर्चामा खटिएका थिए। धरानमा ७ बजे बिहान लड्दा मास्तिर फुस्रेमा रहेको सेनाले केही गर्न सकेन। त्यति बेला संसार जितेजस्तो लाग्यो। माइकिङ गरेर युद्धको घोषणा गर्दा पनि सेना आएन। स्थानीयले प्रत्यक्ष युद्धको अनुभव गरे।

सुनसरीको चतारामा भएको युद्धमा दाहिने खुट्टामा गोली लाग्दा पनि उनमा हिम्मत कायमै थियो। 'मोरङको टाँढीमा १९ महिना जनताले पाले', भने, 'खुट्टा काट्नुपर्ने हुनसक्छ भनेका थिए तर भाग्यले परेन।'

अहिले पनि वाईसीएल नेपालका केन्द्रीय सदस्य राई भन्छन्, 'युद्धमा रगत नबगाउने कमै छन्। घाइते र अपांग धेरै छन्।' उनमा सुरुमा सपना केही थिएन। कम्युनिस्ट त पछिमात्र बुझियो। उनले गुनासो पोखे, 'नेताले युद्धमा दिएको स्कुलिङजस्तो अहिले केही पनि भएन। शान्तिप्रक्रियामा आएपछि हिजो सोचेजस्तो केही भएन।'

भागबन्डा नमिल्दा पार्टी फुटेपछि उनीजस्ता लडाकुको मनमा चोट परेको छ। उनले भने, 'पार्टी फुट्दा दुख्यो। हामीलाई त त्यसै पनि दुख्यो।' देशले अहिले बोकेका नारामा आफ्नै रगत पोतिएको ठान्ने दिपेनले सोचेजस्तो केही पाएनन्। ‘गणतन्त्र नेपाल, धर्मनिरपेक्षता सबै लोकप्रिय नारा हाम्रा रगतपसिनाले बनेका छन्', उनले दावा गरे।

पसिनाको मूल्यलाई युद्धमा होमिन हौस्याउने माओवादीले नै भुलेपछि उनीजस्ता धेरैको बिल्लिबाठ भएको उनको गुनासो छ। युद्धताका जनताले विश्वास गरेर सबै दिए तर शान्तिप्रक्रियामा आएपछि केही दिन नसकेकोमा दिपेन खिन्न छन्। 'हामीले दिन सकेनौं, दुःख लागेको छ', उनले भने ।

उद्यमको बाटो
अनमिन आएपछि स्वैच्छिक अवकाश लिएर व्यक्तिगत जीवनको बाटो खोज्दै बाहिर निस्केका थिए उनी। पाँच लाख लिएर फर्केका उनले शिविरबाट फर्कनुअघि नै निर्माण व्यवसाय सुरु गरिसकेका थिए। पछि सुरक्षा गार्डको व्यवस्था गर्ने कम्पनी ७१ सालमा स्थापना गरे।

अहिले पनि उनको कम्पनीमार्फत ६ जनाले काम पाइरहेका छन्। सेभ द वल्र्डवाइड सेक्युरिटी कम्पनी खोलेर उनले सीप भएका पूर्वलडाकुलाई काम दिने योजना बनाएका छन्। 'हामीजस्ता पूर्वलडाकु धेरै छन् यो देशमा, पार्टीले उचित व्यवस्थापन गर्न सकेन', गुनासो सुनाए, 'उनीहरूको सीपलाई मान्यता दिएको छैन, अहिले उनीहरूलाई परिवार पाल्न र हातमुख जोड्नसक्ने अवस्था छैन।'

कम्पनी खोल्न उनले तीन लाख रुपैयाँ लगानी गरेको सुनाए।माईपोखरी मोटर ड्राइभिङ कम्पनीमा एकाबिहानै आफैं खट्छन्। ६ लाख रुपैयाँ लगानी गरेको कम्पनीले पनि बेरोजगारलाई सीप भर्ने काम गरिरहेको छ।

लिस्नु क्याफेमा सात लाख रुपैयाँ लगानी गरेका छन्। चिया र खाजामात्र बिक्री गर्ने क्याफेमा कुनै समय मान्छे खाली हुँदैन।चुलाचुली-१, कमलझोडामा २५ लाख रुपैयाँको लगानीमा बंगुर फर्म थालेका छन्।

फर्ममा पोखरेली हेमसायर जातका बंगुर पालेका रहेछन्। ६ महिनाअघि सुरु भएको फर्ममा पनि स्थानीयवासीले काम पाएका रहेछन्। उनी भन्छन्,'युद्धले हैन कामले काम सिकायो।'

अहिले एक दर्जनभन्दा बढीलाई प्रत्यक्ष रोजगार दिएका छन्। सयौंलाई आंशिक रोजगारी मिलेको उनले बताए। 'स्वैच्छिक अवकाश लिएका युवा देशभरि छन्। उनीहरूलाई घर चलाउन धौधौ छ', उनले पटकपटक सुनाए।
 माओवादीका पूर्व छापामार दिपेन राईले युद्धपछि ४१ लाख रुपैंयाँ लगानी गरेर चारवटा उद्यम सुरु गरेका छन्।
लिस्नु क्याफे उनको टाउको ओताउने ठाउँ बनेको छ। बाबुआमा नेपालटार गाउँमै बस्छन्।श्रीमती संगीता फागो छोरी आत्मिकालाई खेलाउँदै क्याफे सम्हाल्न व्यस्त रहन्छिन्। फुर्सदमा संगीतालाई सघाउन दिपेन पनि हाजिर हुन्छन्।

दिपेनलाई युद्धमा गोली लागेकोमा, समय बितेकोमा दुःख छैन। शिविरबाट निस्केपछि प्रमाणपत्र तहको अध्ययन पनि भ्याएका छन्। तर रगतपसिनाको मूल्य बिर्सेकोमा भने गुनासो छ । ‘मलायामा लड्नेको वीरताको इतिहास हुन्छ। देश बनाउन लड्ने जनमुक्ति सेनाको इतिहास नामेट बन्दैछ', उनले गुनासो गरे।

बिहानै उठेर पानी पिएपछि सुरु हुने दिनचर्याको एउटै तालिका छैन । काम जता पर्छ त्यतै दौडन्छन् । काम गर्न लजाउँदैन। क्याफे नजिकको बारीमा तरकारी फलाएको देखाउँदै भने, 'भ्याउँदा तरकारी बारीमा रमाउँछु, बेलुका पुस्तक पढ्छु।'

अहिले सुधीर शर्माको 'प्रयोगशाला' पढिरहेको सुनाए। तारा राईको पुस्तक 'छापामार युवतीको डायरी’ पढेपछि उनले भने, ‘पुस्तकमा जे आयो त्यो सबै सत्य हैन। हिजोको स्कुलिङ र आजको प्रक्रियामा आउँदा लाखौं नराम्रा काम भएका छन्। तर तारालाई लेखिका कसले बनायो भन्ने विचार गरिनन्।'

के दियो युद्धले
उनले बुझेका छन्, ‘युद्ध कप्टी हुँदो रहेछ । मेरो जीवनमा पनि भोगेको यथार्थ हो त्यो।' निर्दोषहरू मर्दा दुःख लाग्थ्यो । तीन नियम र आठ ध्यान राम्ररी पढाइएको थियो। जनतालाई आफूजस्तै व्यवहार गर। जनताको सियो पनि नल्याऊ। दुःख नदेऊ । तर युद्धमा सबै नियम कार्यान्वयन नभएको आफैंले देखेको सुनाए।

‘युद्धपछि पार्टीले आधी बाटोमा छोडिदियो। जसरी व्यवस्थापन गर्नुपर्ने थियो, त्यो गर्न सकेन। धेरै अहिले पनि गोलीको छर्रा बोकेर बसेका छन्। अपांग परिचयपत्रसमेत पाएनन्। चोट नपरेको व्यक्ति छैनजस्तो लाग्छ। देशलाई परिवर्तनको पक्षमा रहेको संविधान चाहिएको छ। माओवादीसँग आश थियो तर हामीले त्यो पुर्‍याउन सकेनौं', उनले बयान सुनाए।

उनले आक्रोश पोखे, 'पहिचान, धर्मनिरपेक्षताका लागि हामी लड्दा रमिता हेर्नेहरू अहिले खाँट्टी अभियन्ता भएका छन्।' दलित, जनजाति आदिका नाममा अहिले सडकमा आउनेहरू युद्धको ब्याज खान निस्केका ढोंगीहरूमात्र रहेको उनको तर्क छ। तर नराम्रोमात्र गरेन रे। नेपाली युवालाई चेतना दियो।

राजतन्त्रको अन्त्य भयो। अन्यायको विरोध गर्नुपर्छ भन्ने सन्देश दियो। हामीले बुझाउन सकेनौं। बुकीफूल फुल्ने डाँडामा हाम्रा हातले ठेला उठ्ने गरी बाटो बनायौं। युद्धमा रहँदा फुर्सदिलो समयमा पढ्नुपर्थ्‍यो। त्यसले नयाँ चेतना थप्यो।

उमेर २८ का उनलाई सबै आन्दोलन र परिवर्तन युवाकै आडमा हुने गरेको थाहा छ। युद्धपछि उद्यममा छिरेका उनले कर्ण शाक्यको पुस्तकलाई उल्लेख गर्दै भने, 'नेपालमा गर्दा जे पनि हुन्छ। खोलामा गएर माछा पाले पनि पैसा हुन्छ।' उनको तर्क छ- इमानदार भई काम गरे पुग्छ।

पुरानो सत्ता जित्न हिँडेका उनले आधा बाटोबाटै फर्कनु परे पनि व्यवसायी बनेपछि मुलुकको कानुनलाई एक सुता छोडेका छैनन्। सबैलाई सरकारको निकायमा दर्ता गरेका छन्, कर बुझाएका छन्। यही कुरा अरूलाई पनि सुनाउने गरेका छन्। लेखक केदार शर्मा भन्छन्, 'उनको उद्यमशीलता र इमानदारिता युवाका लागि पे्ररणा बन्नसक्छ।'
www.annapurnapost.com

Write Comment Below:

No comments:

Post a Comment