Saturday, August 22, 2015

झडपपछि कैलालीमा निषेधाज्ञा

धनगढी : कैलालीको टीकापुरमा भएको दोहोरो झडपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । पुर्वमा कर्णाली नदि पश्चिममा मुनुवा गाविस, उत्तरमा पथरैया र दक्षिणमा धनसिहपुर बीचमा निषेधाज्ञा जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए।

दुबै पक्षबीच शुक्रबार अबेर राती सम्म पनि झडप भएपछि, प्रशासनले राती ९ बजेदेखि विहान ६ बजेसम्म सो क्षेत्रमा कफ्यु आदेश जारी गरेको थियो। प्रशासनले, टीकापुर आसपासको क्षेत्रमा नारा जुलुस र प्रदर्शन गर्न नपाईने गरी निषेधाज्ञा जारी गरेको हो ।


यस्तै शुक्रबारको झडपको क्षती पनि प्रहरीले सार्वजनिक गरेको छ । कैलालीको टीकापुर, दुर्गौली र आसपासको क्षेत्रमा शुक्रबार अखण्ड सुदूरपश्चिम पक्षधर र थारुवानका कार्यकर्ताबीच भएको झडपका क्रममा १० वटा मोटरसाईकलमा आगजनी भएको प्रहरीले जनाएको छ ।

दुर्गौली गाविसको तोरैयापुर आसपासमा ८ वटा अखण्ड पक्षधरका मोटरसाईकलमा थरुहटका कार्यकर्ताले आगजनी गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी धनबहादुर कठायतले जानकारी दिएक छन्। यस्तै टीकापुरमा अखण्ड पक्षधरका युवाहरुले, थारु आन्दोलनका टीकापुर संयोजक रेशम चौधरीका बुवाले चलाई रहेको सिंचाईको बा १ ब ७०६ नम्बरको सरकारी मोटरसाईकलमा आगजनी गरेका छन्।

यस्तै थरुहटका कार्यकर्ताले दुर्गौली गाविसका गंगाराम जोशीको घरमा पसेर भे ३ प ११३३ नम्बरको मोटरसाईकल र ट्याक्टरमा आगो लगाएका छन । उनको घरमा तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्गौलीमा रहेको सुर्य बटालाले सञ्चालन गरेको पेट्रोल पम्पमा पनि थरुहटका कार्यकर्ताले तोडफोड गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले, नेपाल प्रहरीका चार जना, शसश्त्र प्रहरीका १७ जना र अखण्ड पक्षधर १४ जना गरी ३५ जना घाईते भएको जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले नेपाल प्रहरीका जवान रमेश खड्का बाहेक सबै उपचार पछि फर्किसकेका छन । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले थारुवानका कार्यकर्ता पनि घाईतेको अवस्था बारे जानकारी आइ नसकेको बताए ।

तर थारु आन्दोलनका प्रवक्ता माधव चौधरीले ७ जना थरुहट कार्यकर्ता घाईते भएका, १५÷२० घरमा तोडफोड गरिएको जानकारी दिए । उनले, अखण्डका कार्यकर्ताले सभाषद जनक चौधरीको टीकापुर स्थित घरमा तोडफोड गरेको, टिकापुरमै रहेको थारु कल्याणकारिणी सभाको कार्यालयमा पनि तोडफोड गरिएको जानकारी दिए । यस्तै थरुवानका कार्यकर्ताको २७ वटा साईकल तोडफोड गरिएको पनि चौधरीले जानकारी दिएका छन् ।

अहिले टीकापुरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सेती अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपाने, गण मुख्यालयका प्रहरी परिक्षक विरेन्द्र बस्याल सहितका सुरक्षाअधिकारी टीकापुरको सुरक्षामा खटिएका छन् । annapurnapost.com

Write Comment Below:

No comments:

Post a Comment