Tuesday, August 18, 2015

ज्योति मगर र लोकगीतको अश्लिलतामा गायक पशुपति शर्माको बयान


उनका गीतले बेलाबेलामा एउटा-एउटा तरङ्ग ल्याउँछन्। उच्च शिक्षा हासिल गरेर बेरोजगार बसेका र देशमा केही हुन्न भनेर विदेश लाग्नेका लागि 'मलाई अमेरिका एई,मलाई जापान पनि एई' होस या जातपातका विरूद्ध 'हामी नेपाली' होस् लोकदोहरी गायक पशुपति शर्माले समाजका कुरा आफ्ना गायनबाट धारणा राख्ने गरेका छन्। विगतमा पनि महिला लोक गायिकाको एकाधिकार रहेको तीज गीत गाएर पनि उनले आफ्नो बेग्लै स्थान बनाए। अहिले तीज नजिकिदै गर्दा केही तीजगीतका आपत्तिजनक शव्द र भिडियोका कारण कम चर्चामा रहने गरेको लोकदोहोरी गीत अहिले फेरि फ्रन्टलाइनमा आएको छ।
२०६४ सालबाट तीजगीत गाउन सुरु गरेका पशुपतिले यस वर्ष पनि करिब एक दर्जन गीत सार्वजनिक गर्दैछन्। एकातिर उनी मस्त गीत गाइरहँदा अर्कातिर उनको क्षेत्रमा अश्लिलता र विकृति बढ्यो भन्ने आरोप झन् झन् चुलिँदो छ। कुनै बेला विकृति बढाएको भन्ने आरोप खेपेका पशुपति पनि यसलाई सहर्ष स्विकार्छन् र विकृति बढ्नुमा आफ्नो पनि कमजोरी देख्छन्। विकृतिको जड यही हो भनेर ठ्याक्कै किटान गर्न नसके पनि विकृति जन्मिएका ठाउँ र विकृतिलाई केही हदसम्म निमिट्यान्न पार्न सकिने उपायहरु भने उनले देखेका छन्।
‘पहिलो समस्या समाजको हो’। उनी भन्छन् ,‘मेरै उदाहरण लिने हो भने नै मैले गीत गाउने पेशा रोज्न ठूलो संघर्ष गर्नु पर्‍यो। अझ यो क्षेत्रमा आउन चाहने युवतीहरुका लागि त सकस कसो नहोला ! हामीले अझै पनि आफ्ना सन्तानलाई लोकसंगीत र सँस्कृतिको महत्व बुझाउन सकेका छैनौ। नपढ्नेले मात्र गीत गाउने हो भनिदिँदा राम्रो कला भएको मानिस कसरी आओस् ? समाजलाई ‘कला’ पढाउन नसक्नु राज्यको ठूलो गल्ती हो।’
त्यसपछि, लोकगीतलाई हेर्ने दृष्टिकोणमा पनि ठूलो कमजोरी भेट्छन् उनी। उनलाई लाग्छ, नेपाली फिल्म र लोकगीतका दर्शकश्रोता एकै वर्गका हुन्। तर, राज्यले यी दुई क्षेत्रलाई बराबर ठान्दैन्। उनका विचारमा लोकगीतमा  विकृति निकाल्ने कारण पनि त्यही विभेद हो। उनी एउटा चित्र प्रस्तुत गर्छन्,‘एउटै स्टेजमा चढेर हात हल्लाएको भरमा नायिकाले एक लाख लिन्छिन्, गायिकाको हातमा जम्मा बीस हजार परेको हुन्छ।
त्यसो हुँदा गायिकाको दिमागमा के पर्दो हो ? के यस्तो प्रवृत्तिले गायिकाको मनोबल घटाउँदैन ?’ पशुपतिलाई लाग्छ, यस्तै कारणले आफूलाई सम्हाल्न नसक्ने गायिकाहरुको मनोदशा बिग्रँदै जाँदा डिप्रेसनसम्म पुग्छन् र चर्चाको लागि सस्तो लोकप्रियता रोज्न सक्छन्। शर्मा गायिका ज्योती मगरले उठाएको अश्लिलताको बहसलाई पनि यसै कोणबाट हेर्छन्। उनी भन्छन्,‘कलाकारमा यो सबैभन्दा ठूलो कमजोरी हो। कलाकारमा धैर्यता र अनुशासन चाहिन्छ।’
‘अर्को कुरा, नेपाली फिल्मका नायिकाचाहिँ चैं कति अनुशासित छन् भन्ने प्रश्न पनि आउँछ। लोकगीत मात्र अनुशासित भएर मात्र त पुग्दैन होला? हाम्रा सञ्चारमन्त्रीलाई दशजना नायिकाको नाम सोध्दा खरर भनिदिनुहुन्छ। गायिकाको नाम सोध्दा दुई जनाको मात्र आउँछ होला ! लोकगीतमा यी र यस्तै हेय गरिएका छन्। जसले लोकगीतलाई माथि उकास्न सकेको छैन।’

उनी विकृति बढ्नुको अर्को कारण देख्छन्, राम्रोको चर्चा नगरिनु। पशुपति तर्क गर्छन्,‘बिमाकुमारी दुरा, सावित्री शाह, लक्ष्मी न्यौपाने, माया गुरुङ, बिष्णु माझीहरु खोई हामीले खोजेको ? राम्रा गायिका होइनन् ती ?’ पछिल्लो समय सिमित गायक र गायिकाको मात्र चर्चा गरिने सँस्कृति बढ्दै गएकोमा उनको चित्त दुखाई छ।
यसो हुँदा अन्यमा पनि चाँडै चर्चा पाउने महत्वाकांक्षा पलाउँछ र गलत बाटो रोज्छन्। उनी भन्छन्,‘हामीसँग लोकगीतमा जम्मा पाँच जना गायिका र पाँच जना गायक चर्चामा रहन्छन्। तिनीहरु विदेश पनि पुगिरहन्छन्। उनकै चर्चा बढी हुन्छ। हामी त्यस्ता कलाकार खोजौं न जो अहिलेसम्म दिल्ली पनि पुगेका छैनन् ?’
राज्यले पनि लोकगीतमा जीवन दिने व्यक्तिलाई सम्मान गर्न नजान्दा लोकगीतको असली रुप हराउँदै गएको जस्तो लाग्छ पशुपतिलाई। राज्यले दिने कुनै ठूलो पदक अहिलेसम्म कुनै लोकगीतकर्मीले नपाउनु सबैभन्दा ठूलो धोका हो भन्ने उनलाई लाग्छ।
धर्मराज थापा, लोकबहादुर क्षेत्री, नारायण रायमाझी लगायतको कामलाई उनी सम्मान गर्छन्। तर, उनलाई लाग्छ, नेपाली लोकसंगीतको मियो नै छैन। ‘कोही कसैलाई आदर्श मानेर यो क्षेत्रमा आउने आँट कसैले गर्न सक्दैन। लोकगीतको क्षेत्रमा केही नामबाहेक सबै आफ्नो व्यक्तिगत स्वार्थ मात्र पुरा गर्न आउँदा यस्तो भएको छ।’ उनी भन्छन्,‘म पनि त्यस्तै हूँ। पहिलो समस्या अग्रज भनाउँदामै हो। जसले नयाँलाई सिकाउनुको साटो बिगार्‍यो भनेर विरोध मात्र गरेर बसे।’
त्यसपछिको कमजोरी आफ्नै पुस्तामा देख्छन् पशुपति।
उनको अहिलेको पुस्ताका अधिकांश पनि पुराना स्वार्थी संगीतकर्मीकै शैली पछ्याउने जमातमा पर्ने तर्क गर्छन् उनी। ‘के भइरहेको छ, अब कसरी जाने ? भन्ने बहस गर्न कोही अघि सर्दैन।’ यो समस्या बोकेर बस्ने पुस्ताका एक प्रतिनिधि आफैंलाई पनि देख्छन् पशुपति। भन्छन्,‘सबैलाई कसरी चर्चा कमाउँ र कसरी विदेश घुमौं भन्ने मात्र छ।’ यस्तो रोग विस्तारै नयाँ पुस्तामा पनि सर्दै गइरहेको उनी देख्छन्। नयाँ आएका र आउनेहरुले पनि नेपाली लोकसंगीतमाथि बहस चलाउलान् भन्ने विश्वास उनमा छैन।
पशुपति अर्को गम्भिर समस्या भन्दै कुरा खोल्छन्,‘हामीमा आत्मसमिक्षा छैन। मैले कस्तो गीत लेखेँ, यो गीत परिवारसँग बसेर सुन्न मिल्छ कि मिल्दैन ? कसले सुन्ने हो ? कसैले विचार गर्दैन।’ पशुपतिलाई लाग्छ, नेपाली लोकगीतकर्मीहरु आत्मसमिक्षाको कुरामा खुम्चिँदै गइरहेका छन्। उनलाई त अझ लाग्छ,‘गीत लेख्नेलाई समेत त्यसको भाव थाहा हुँदैन। लय हाल्ने र गाउनेले समेत भाव बुझ्न चाहँदैनन्।
म्युजिक भिडियो निर्देशन गर्नेले त झन् शब्द पनि ख्याल नगरी मोडललाई नचाइदिन्छ। मोडलको मात्र के दोष ? युट्युबमा भ्यु बढाउन भिडियो खिच्ने निर्देशकका कारण झन् विकृति बढेको छ।’ तर पनि शर्मालाई लाग्छ, प्रबिधि विकृतिको कारण होइन। प्रबिधिसँग जुधेर जानुपर्ने उनको तर्क छ।
पशुपतिको विचारमा गीत लेख्नेले आफूलाई श्रोता सम्झेर गीत लेख्नुपर्छ। उनी आफ्नै समाजमा चलिरहेकै गतिबिधिलाई हेरेर कथा बनाउँछन्। बाटोमा हिँड्दै गर्दा सजिलो सजिलो हुने शब्द सोच्छन् र लय पनि टप्प टिपिहाल्न मिल्ने खालको गम्छन् र स्टुडियोमा गएर गीत लेख्छन् र आफैं स्वर भर्छन्। उनले गीत लेखेको श्रीमतीलाई समेत पत्तो हुँदैन। पशुपतिको सुझाव छ,‘आफ्नै घरभित्रको कुरा टिप्ने हो भने पर जानै पर्दैन। परिवारभित्रकै कुराले देश नै बोलिरहेको हुन्छ भने द्विअर्थी लाग्ने शब्द किन बनाइ रहनुपर्‍यो ?’
मैले के गर्दैछु भन्ने प्रश्नको उत्तर थाहा हुनेले लोकगीतलाई कहिल्यै हानी नपुर्‍याउने तर्क छ उनको। आफ्नो भित्री मनलाई आफूले इमान्दार छु भन्ने जस्तो लागे कसैलाई नसोधि गीत बनाउँदा पनि केही बिग्रँदैन। लगभग ८० गीत आफैं लेखेर रेकर्ड गराएका पशुपतिले अहिलेसम्म आफूले लेखेको गीत कसैलाई पनि देखाएका छैनन्। उनलाई आफू शब्दमा कमजोर छु भन्ने लाग्छ रे ! त्यसैले, अक्षर बिग्रेला कि भन्ने डरले फेसबुकमा स्ट्याटस समेत राख्दैनन्।
कुनै समय तीजगीत गाउँदा गीत बिगार्‍यो भन्ने आरोप खेपेका पशुपति विकृतिको मापन चाहिँ के हो त भन्ने प्रश्नसमेत गर्छन्। ‘हामीले सतही रुपमा बुझेको, तीजमा महिलालाई सम्मान दिनुपर्छ भन्ने हो। गीतबाट नारीको आत्मबल बढाउनुपर्छ भन्ने हो। तर, यसपालीको तीजमा हामीले नारीलाई नै गाली गर्‍यौं।’ उनलाई लाग्छ,‘यस समस्याको मुल जड भनेको आफ्नै सँस्कृति नबुझ्नु हो। तीजगीतमा कतिसम्म गाउने भन्ने सिमा पनि त हामीसँग छैन। आफ्नो सँस्कृति बुझेर गाउने हो भने सिमा पनि आफैं बन्छ।’
विकृति निकाल्ने अर्को जड गीत प्रस्तुतिमा पनि देखेका छन् उनले। उनलाई कहिलेकाहीँ फोन आउँछ,‘पशुपतिजी स्टेज उचाल्न सक्ने गायिका चाहियो।’ पशुपति भन्छन्,‘मिठो स्वर भएको गायिका भनेर कसैले सोधेका थाहा पाएको छैन। म आफैं पनि कार्यक्रममा जाँदा दर्शकलाई नचाउनै पर्ने दबाब हुन्छ। दर्शकलाई ताली बजाउन लगाउनैपर्छ। कसैले ताली नबजाई पनि त गीत सुन्न सक्छ नि ! जति दर्शक उफ्रे, कार्यक्रम त्यति सफल भएको मान्छन् आयोजकहरु।’
पशुपतिको भनाईमा यी सबै समस्या हटाउने सबैभन्दा सजिलो उपाय हो, सेन्सर बोर्ड। लोक दोहोरी संगीत प्रतिष्ठानका सचिवसमेत रहेका शर्मालाई लाग्छ,‘गीत बजारमा जानुअघि सेन्सर गरिदिने हो भने शब्द र भिडियोले बोक्ने विकृति हट्छ। शब्दमा अश्लिलता नभएपछि स्टेजप्रस्तुतिमा समेत विकृति हट्छ।’
अन्त्यमा, उनी तितो पोख्दै भन्छन्,‘सम्बन्धित निकायमा हामी पटकपटक सेन्सर बोर्डको माग राख्न गयौं। बिडम्बना, सँस्कृतिको जगेर्ना गर्न भनेर बसेका माथिका ठूला भनाउँदाहरु लोकगीत नै सुन्दा रहेनछन्। सम्पुर्ण गीतसंगीतको आधार र आफ्नै माटोबाट उब्जेको संगीतलाई समेत वास्ता गर्दैनन्।’

Write Comment Below:

No comments:

Post a Comment