Friday, August 28, 2015

छोराको काखमा पानी पिउँदै आमाले संसार छाडिन्

भूकम्पमा बाँचेका दम्पतीलाई पहिरोले लग्यो
त्रिशूली (नुवाकोट) : ‘हुने हार दैव नटार’ भने झैं कहिलेकाहीँ आउने विपत्तिले जीवनभरका लागि नमेटिने घाउ छाडेर जान्छन् । जो कसैको इच्छा हुन्छ, त्यस्तो विपत्ति नआइदेओस्, दैवले टारेर लैजाओस् ।

तर मान्छेले चालेजस्तो कहाँ हुन्छ र ? लेखन्तले लेखेको कुरा कहिल्यै मेटिन्न, पुरा भएरै छाड्छ । शुक्रबार विहान साढे एक बजे नुवाकोटको दुर्गम गोस्र्याङ गाविसका कलिला नानीबाबुलाई जीवनभर नभुल्ने पीडा बोकेर आयो ।

बिहानीपखको निद्रामा बिलिन भइरहेका बेला धर्ती नै कपाउँदै झरेको पहिरो बालक सुमन तामाङ र उनका भाइबहिनीका लागि जीवनभरको पीडाको कारण बन्यो ।

राति उनी मस्त निदाइरहेको थिए, भूकम्प आएजसरी उनी सुतेको खाट र जमिन हल्लियो । जमिन हल्लिएपछि उनी तत्कालै ब्युँझिए । आँखा खोलेर हेर्दा चारैतिर अध्याँरो, क्षणभरमै हिलोमाटोकोे गन्ध फैलियो । बत्ती गएका बेला गर्जिरहेको आकाशसँगै चम्किएको बिजुलीको उज्यालोमा चिह्याउँदा उनी सुतेको टहरोको चिनोबानो थिएन ।

पहिरोले पुरिसकेको टहरोबाट उनले आफू, भाइ र बहिनीलाई तानेर बचाउन सफल भए । तर, टहरोको पूर्वतर्फ भित्तामा सुतिरहेका बाबुआमालाई बचाउन सकेनन्, दैव पनि कति निष्ठुरी आफ्नै आँखा अगाडि बाबुआमालाई पहिरोले निल्यो ।

उठेर दौडँदै उनी ढोकामा पुग्दा ढोका पनि भाँचिइसकेको रहेछ । ढोकाबाट निस्केर भाग्न खोज्दा बहिनी मनिषा चिच्याइन् । बहिनीलाई लिएर भाग्न खोज्दा भाइ अशोक पनि चिच्याए । दुबै जनाको हातमा तानेर बाहिर लगे । जमिन अझै हल्लिरहेको थियो । त्यसपछि बुुवा सोमबहादुर र आमा फुुर्कुमायातर्फ नजर लगाए । बुवालाई त पहिरोले किचेर अघि नै प्राण लिइसकेछ, जीवनको भीख मागिरहेकी   आमालाई गुहार लगाउँदै ताने ।

भूकम्प गएका बेला त भागेर वाँचेका उनका बाबुआमा पहिरो पनि दिउँसो झरेको भए बुवाआमा पनि सँगै भाग्न सक्थे होलान् । छिमेकी भाइ ६ वर्षीय पूर्ण त अझै भेटिएकै छैन ।

‘पहिरो सम्झिँदा अहिले पनि मुटु हल्लिरहेको छ’, सुमनले त्रिशुली अस्पतालमा आएकाहरुसँग सुनाइरहेका छन्, ‘पढ्न पाए हुन्थ्यो । सँगै खेल्ने अर्का छिमेकी भाइ १२ वर्षीय केशव पनि बिते । भगवानले दया गरिदिएको भए हुने ।’

पहिरो झरेपछि गाउँका छिमेकी आए । आमालाई पानी खुवाए । ‘पानी खाँदाखाँदै मेरै काखमा संसारबाट विदा भइन्, मेरी आमा’, सुमनले रुँदै भने, ‘मलाई र भाइ बहिनीलाई अब कसले पाल्छ ?’

ज्याला मजदुरीबाट सातजनाको परिवार पाल्दै आएका सोमवहादुर र श्रीमती फुर्कुमायाको पहिरोमा परेर  मृत्यु भएपछि टुहुरा भएका बालक सुमनको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

दिदी अस्मिता पनि पहिरोमा परेर घाइते भएकी छिन् । उनको विवाह भइसकेको छ । उनीसँगै उनको परिवारमा दुई भाइ र दुई बहिनी घाइते भएका छन् । अब परिवारको बोझ अस्मिता र भाइ सुुमनको काँधमा आएको छ । अस्मिताले गाउँकै चौतारीडाँडामा रहेको चक्रेदेवी प्राबिबाट पांँच कक्षा पढेपछि तुलवहादुरसँग विवाह गरेकी थिइन् ।

तुलबहादुर तीन वर्षदेखि मलेसियामा रोजगारीमा रहेका छन् । सुमन घरदेखि आधा घण्टा दुरीको शंखादेवी उच्च माविमा अध्ययन गर्दै यस वर्ष टेष्ट परिक्षाको तयारी गर्दै थिए । अब उनी आफु, भाइ र बहिनीको पढाईको चिन्तामा परेका छन् ।

भाइ अशोक र बहिनी सञ्जुमाया गाउँकै चक्रेदेवी प्राविको कक्षा २ तथा अर्की बहिनी मनिषा कक्षा ५ मा अध्ययनरत छिन् । गम्भीर घाइते सञ्जुमायासहित उनका छिमेकी सुन्दरबहादुरलाई सेनाको हेलिकप्टरवाट शुक्रबारै काठमाडौ लगियो ।

‘बहिनीको  अवस्था गाह्रो थियो, सुधार भएको छ भन्ने सुनेको छु’, नुवाकोट जिल्ला अस्पताल त्रिशूलीको आकस्मिक कक्षमा उपचार गराइरहेका सुमनका आँखा रसाइसकेका थिए ।

अविरल वर्षातसँगै आएको पहिरोले घर पुरिँदा नुवाकोटको दुई छुट्टाछुट्टै स्थानमा तीन महिलासहित पाँच जनाको मृत्यु भएको छ । एकजना वेपत्ता छन् भने ६ जना घाइते भएका छन् । जसमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।

सदरमुकाम विदुरदेखि २५ किलोमिटर पश्चिममा रहेको गोस्र्याङ गाविस–२ स्थित काप्रेको तामाङबस्ती सिरान टोलमा रहेको उनीहरुको र छिमेकी घर पहिरोले पुर्‍यो । सुमनले आफु, भाइ र बहिनीलाई बचाएर गुहार मागे । छिमेकीहरु आए, घाइते आमा र दिदीलाई निकाले तर आमाको भने १५ मिनेटपछि मृत्यु भयो ।

‘पहिरोमा बाबुआमा एकैसाथ गुमायौं, बेसहारा बन्यौं’, उनले भने, ‘हामीलाई अब सरकारले बस्ने र पढ्ने व्यवस्था गरिदिए गुण लाग्ने थियो । मेरो, भाइ र बहिनीहरुको पढाई नबिग्रिए राम्रो हुन्थ्यो ।’

उनले अस्पतालमा पुगेकी जिल्ला वाल कल्याण संघ नुवाकोटकी वाल कल्याण अधिकारी अनीता थापासँग सहयोगको हात पसरेका छन् । थापाले बालकका आफन्त र उनीहरुको आवश्यकता अनुसार सकेको सहयोग गरिने बताइन् ।
www.annapurnapost.com

Write Comment Below:

No comments:

Post a Comment