Friday, August 21, 2015

घैंटे पुराणः तरुनीखानादेखि तरबार काण्डसम्म

प्रायः अराजक र उत्तेजित रहने यूवा समूहको एक जना नाइके कुमार श्रेष्ठ उर्फ घैंटेको इन्काउन्टर भएछ ।
२०५६ सालतिर म सामाखुसीमा बस्दा घैंटे त्यस्ता अराजक र उत्तेजित आपराधिक मनस्थिति भएका युवा समूहको उदीयमान नाइके थिए ।
त्यतिबेला २९ वडाका वडाध्यक्ष वर्षाराम भण्डारीमाथि खुँडा प्रहार भएको घटना जसमा घैंटे संलग्न थिए त्यतिबेलादेखि म उनलाई चिन्दथें ।
कारण के थियो सामाखुसीमा घैंटेको तारिफदारी गर्ने र उनको निर्देशनमा खटिने एउटा समूहको अघोषित सदस्यजस्तैमा थिएँ …
सरस्वती क्याम्पसको तरबारकाण्ड, विश्वभाषा क्याम्पसमा भलिबल खेल्दाको काण्ड, पब्लिकयुथको मारपिट काण्डसम्म आइपुग्दा म सामाखुसी छाडेर अर्कै दुनियाँ हिंडिसकेको थिएँ, एउटा पेशामा, पुराना मित्रहरुसँग अपरिचित र अञ्जान रहेर ।
तिनैं कुमार श्रेष्ठ विस्तारै असली दादा हुँदै गए, टेक्कापट्टामा लाग्न शुरु गरे, १०/२० जना भाइसाथीलाई मोटरसाइकलमा हुँइक्याएर ठूला ठेकेदारहरुलाई अन्नपानी दिलाउनसक्ने भए, विस्तारै राजनीतिक नेताहरुका ‘आवश्यक साधन’ बन्दै गए ।
फिरौती, कमिशन, बाहूबल आपूर्तिमा घैंटे उदाउँदा तारा बन्दै गए, ठूला डनहरुको नाममा घैंटे दर्ज भए, जसले जे भने पनि प्रहरीकै केही ठूला अधिकारी राती घैंटेसँग दामको कुरा गर्थे दिनमा चौकीमा घैंटेलाई भेटे भन्दै फूर्तिवाला गफ दिन्थे ।
मैले देख्दादेख्दै घैंटे राजनीतिक दर्शनका ज्ञातासमेत हुँदै थिए, कहिले उनी वाइसियलको सविस्तार वर्णन लगाउने क्रान्तिकारी पूजारी हुन्थे कहिले समाजवादको व्याख्या लाउनसक्ने तरुण दलका मसिहा ।
दिनेश अधिकारी उर्फ चरी निकै पछि उदाएको, त्यो पनि घैंटेमाथि सानोतिनो आक्रमण गरेर, केटो थियो जो पछि महेश बस्नेत (हालमा मन्त्री)  को प्यारो भएको थियो।
घैंटे चरीभन्दा एक दशक पुराना खेलाडी (गुण्डा) थिए । पछिल्लो समय घैंटे नेपाली कांग्रेसका ‘आदरणीय’ यूवा नेता हुने क्रममा थिए, सामाखुसी, बालाजु, बसुन्धरा (चक्रेको सीमाबाट पश्चिम, टोखाबाट तलसम्म) ठमेल (काठमाण्डु गेष्टहाउसबाट उत्तर) लाजिम्पाट (पानीपोखरीदेखि लैनचौरसम्म) घैंटेको छवी हिजो पनि थियो र आजभोली विस्तारित हुँदै थियो ।
हाम्रा जिल्लाका एकजना उपल्ला नेताका लागि त घैंटे चुनावको बेला नभइनहुने एन्टीबायोटिकजस्तै थिए । भ्रतृसंगठनदेखि आमचुनावसम्म यिनको बजार मूल्य दोब्बर तेब्बर हुन्थ्यो ।
तरुनीखानादेखि नाच्ने अखडासम्म फैलिएका थिए घैंटे जहाँ उनको नामैले प्रवेश शुल्क मिनाहा हुन्थ्यो । छापाहरुले महानगरका प्रहरी अधिकारीले १० वर्षअघिको इगो फेर्न घैंटेको इन्काउन्टर गरेको जस्ता भद्दा तर्कहरु दिइराख्दा मलाई भने घैंटे र चरीको मृत्युको लेखाजोखा गर्ने व्यक्तिगत अधिकार प्राप्त भएको छ ।
फरकफरक समाजमा जन्मेका, हुर्केका, बढेका भएपनि चरी र घैंटे एउटै प्रकृतिका, एउटै पेशाका, एउटै धर्मका दाजुभाई थिए । कुमार श्रेष्ठलाई घैंटेको र दिनेश अधिकारीलाई चरीको कुख्याती दिलाउने तत्वहरु हाम्रै समाजका, देशका, राजनीतिका अभ्यासहरु हुन् ।
म सम्झन्छु,यतिबेला, त्यो जमानाका मुरलीदेखि पायलसम्म, घायलदेखि पातकी राजुसम्मले घैंटेलाई सम्झिरहेका होलान् । खोरण्डे माइकलदेखि डूँडेसम्मले घैंटे्को छत्रछायाँको अभाव महशुस गर्लान् ।
त्यसैले चरी र घैटेको इन्काउन्टरमा तीनहात उफ्रेर ताली बजाउनभन्दा अधिकारीलाई चरी र श्रेष्ठलाई घैटे बनाउनेको इन्काउन्टर पनि शुरु भए म मेरो तन, मन, वचन, कर्मले सक्नेसम्म सहभागी हुन्थें भन्थे लाइराछ।
(लेखक माउन्टेन टेलिभिजनका पुर्व समाचार प्रमुख हुन्)
www.nepalsandesh.com

Write Comment Below:

No comments:

Post a Comment