Wednesday, August 26, 2015

मैले हारें, दया गर्नुस् भन्दाभन्दै भाला रोपे'

धनगढी: म थाकिसकें, मलाई छोडिदिनुस्, अलिकता दया गर्नुस्, मेरो फौज तितरबितर भइसक्यो। मैले हारें, तपाईंहरूले जित्नुभयो भन्दा पनि कसैलाई दया पलाएन।

घरभित्र पसिसक्नुभएका सर (एसएसपी लक्ष्मण न्यौपाने) को कठालो समातेर बाहिर ताने, पर खेतसम्म लखेटे अनि धकेल्दै परसम्म लगेर लामो कपाल भएको जस्तो देखिनेले आँखामा भाला रोप्यो । सर त ड्याम्म ढल्नुभयो, उहाँको मुखमा, टाउकोमा हान्दै थिए, त्यसपछि मेरो पालो आउँछ भनेर ज्यान जोगाउन म भागें।


बडो यातना दिएर मारे सबैलाई। मेरो एउटा आँखामा ढुंगा लागेपछि एउटा आँखालाई हातले छोपेर सरलाई जोगाइरहेको थिएँ, तर सकिनँ। त्यो दिन प्रहरी निरीक्षक बलराम बिष्टको कमान्डको टोली टीकापुर नगरपालिका-६ शंकरपुर आससासमा खटिएको थियो। प्रहरी निरीक्षकसहित १२ जनाको निःशस्त्र टोली लठ्ठी बोकेर परिचालित थियो।


तर बलराम सरको टोलीलाई प्रदर्शनकारीले निषेधाज्ञा तोडेर पाँच सय मिटर वर धकेलेपछि, सापको वाकीटकी बज्यो, त्यहाँबाट बलराम सापले ‘सर हामीलाई च्यापिसक्यो, थप मद्दत चाहियो' भनेको सुन्दै थिएँ। त्यतिबेला एसएसपी साप, सशस्त्रका एसपी लक्ष्मण सिंह सँगै हुनुहुन्थ्यो।

केहीबेर सल्लाहपछि दुवैजना एकै पिकअपमा चढ्नुभयो। अगाडिको पिकअपमा एसएसपी साप र सशस्त्रका एसपी साप, पछाडिको वानटनमा सशस्त्रका थप १६-१७ जना शंकरपुरका लागि मुभ भयो।


त्यहाँ ठूलो संख्यामा प्रदर्शनकारी थिए, झन्डै ५ हजारभन्दा बढी। पिकअप भीड नजिकै रोकियो। त्यसको पछाडि कभरमा वानटनमा सशस्त्र थियो। त्यसमा एसएलआर बोकेका ६-७ जना सशस्त्र प्रहरी थिए। एसएसपी साप ओर्लिनुभयो, अनि भीडलाई सम्झाउनमात्र के सुरु गर्नुभएको थियो, भीडले सी आकारमा प्रहरी टोलीलाई घेरा हाल्यो।

उता बलराम सापको त त्यसअघि नै हत्या भइसकेको रैछ। अनि हामीलाई पनि भीडले लखेट्दालखेटदै अझ पाँच सय मिटर टाढा पुर्‍यायो। एसएसपी साप मोटो जिउ भएको मान्छे, थाकिहाल्नुभयो, हिँड्नै सक्नु भएन।

त्यसपछि मैले नजिकै रहेको एकजनाको घरमा सरलाई लगें। सरलाई यहाँ चुपचाप बसौं भनें। बाहिर भीड र अरू प्रहरीबीच भिडन्त भइरहेको थियो। सरको वाकीटकी बजेपछि एकजनाले यहाँ भित्र पुलिस छ भन्यो। अनि हुलका हुल घरवरिपरि आए।

घरको ढोका तोडेर केही मान्छे भित्र पसे। सरको कठालो समातेर बाहिर ल्याए। त्यो घरका मानिस पनि ‘अब नहान्नुस्' भन्दै रोकिरहेका थिए तर कसैले सुनेन। केहीबेरको कुटाइपछि खेतमा लगेर एकजनाले भाला हानिहाल्यो। कसैले बन्चरोले हाने त कसैले लट्ठीले हाने।

सबैभन्दा मलाई सशस्त्र प्रहरीले फायर नखोलेकोमा नराम्रो लागेको छ। 'भीड अनियन्त्रित भयो एसपी साप फायर खोलौं' भनेर सापले धेरैपटक सशस्त्रका एसपी सापलाई भन्नुभयो तर उहाँले आदेश नआएकाले गोली हान्न नसकिने बताउनुभयो।

एकजना एसएलआर बोकेको सशस्त्र प्रहरीको जवान सरको छेउमै थियो। सरले भन्नुभयो, 'ए भाइ फायर खोल, हामीसँग केही छैन, तिमीहरूले पनि फायर नखोले कसरी बाँच्ने हामी ? छिटो फायर खोल।' तर ती जवानले आदेश नआएकाले गोली चलाउन नमिल्ने भन्दै टारे। त्यहाँ चारपाँचजना मात्रै हतियार भएका प्रहरी गएको भए भीड नियन्त्रणमा आउने रैछ।

माओवादी सशस्त्र युद्धको बेला जस्तै छापामार शैलीमा प्रहरीमाथि आक्रमण भएको थियो । प्रहरीलाई लखेट्ने, एक्ल्याउने एक समूह हुन्थ्यो, घेर्न, हतियार हान्ने, भाला रोप्ने समूह अर्कै थियो। सबैलाई एक्ल्याएर मार्दै गए। प्रहरी निरीक्षक केशब बोहरा पनि सापसँगै जानुभएको हो । सबैलाई सी आकारमा घेर्दै भाला रोप्दै, आगो लगाउँदै मारे।

सर ढलेपछि म भागें। नजिकै एउटा नाला थियो, त्यो नाला पार गर्न सकिरहेको थिइनँ। मेरो एउटा आँखा बन्द भइसकेको थियो भने खुट्टामा पनि दर्जनौं लाठी खाइसकेको थिएँ।

धेरै प्रयासपछि म त्यो नाला पार गर्न सफल भएँ। अनि धेरै टाढाको धान खेतमा गएर पल्टिराखें। धेरैबेरसम्म होस थिएन। पछि होस आएपछि यताउता सुनसान थियो। केही साथीहरू घाइते देखिन्थे, केहीका शव देखिन्थे। एकैछिनपछि थप फौज आयो। अनि हामीलाई अस्पताल लगियो।
(सेती अञ्चल प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेका अंगरक्षक मानबहादुरसँग अन्नपूर्णकर्मी शिवराज भट्टले गरेको कुराकानीमा आधारित)
www.annapurnapost.com

Write Comment Below:

No comments:

Post a Comment