Wednesday, August 12, 2015

यसरी बिते बलात्कारपछिका मेरा आठ वर्ष

रस्मिला तामाङ
काठमाण्डु,२८ साउन  – प्लस टु सिध्याएपछि आफ्नै खुट्टामा उभिएर जिउँने सोच थियो । कुनै काम गरेर आत्मनिर्भर बन्ने सोचमा थिएँ म । वालिङको एकजना दिदीसँग आएको एक नयाँ मान्छे भेट भयो । दिदीले मलाई त्यो नयाँ मान्छेसँग चिनजान गराउँनुभयो । त्यो मान्छे नेपाल टेलिकम स्याङ्जा वालिङ शाखाको हाकिम यादवप्रसाद घिमिरे रहेछ । छोटो कुराकानीपछि म आफ्नो बाटो लागे उनीहरु आफ्नो ।
सामान्य भेटघाट र परिचय भएको छ महिनापछि त्यही हाकिमले ‘टेलिकमले मान्छे खोजेको छ, जागिर खाने भए आउनू’ भन्ने खबर पठाएछ । मलाई जागिरेको आवश्यकता थियो । म उसलाई भेट्न गएँ । म बुटवलबाट प्रत्रिकामा काम गर्थेँ । भेटपछि उसले ‘भन्यो यो पत्रकारीताले पेट भरिँदैन । साइड जव गर्नुपर्छ ।’ उसले ‘भ्याकेन्सी नखुलाई भित्रैबाट सेटिङ मिलाएर तिमीलाई जागिरमा राखिदिन्छु तर तिमीले अन्तर्वार्ताको लागि पोखरा जानुपर्छ’ भन्यो ।
मैले सोचेँ अन्तरवार्ताका लागि पोखरा किन नजानु ? जान्छु भन्ने ठानेँ । त्यसपछि पोखरा जाने टुंगो लाग्यो । बिहानै पोखरा पुग्ने, अन्तरवार्ता दिएर फर्कने सल्लाह भयो । पोखरा जाने दिन ६४ पुस १७ गते थियो । मैले उसलाई बिहानै फोन गरेँ । ‘उसले फुर्सद छैन, २ बजे तयार हुनु’ भन्यो ।
स्याङजाबाट दिउँसो दुई बजेको माइक्रो चढेर साँझ साँढे ५ बजे पोखरा पृथ्वीचोक आइपुग्यौं । उसको सामान किन्न ट्याक्सीमा महेन्द्रपुल गयौँ । उसले आफ्नो लागि किन्यो । अनि मलाई पनि सामान किन्न आग्रह ग¥यो । मैले ‘मलाई पर्दैन’ भन्दा ‘मलाई नराम्रो नसोच’ भन्थ्यो । उसले मलाई एउटा टोपी किनिदियो । त्यहि ट्याक्सी चडेर फेरि घारीपाटन पुग्यांै उसको दिदीको घरमा । उसले आज आफ्नी दिदीकोमा बस्ने र भोलिपल्टको इन्टरभ्यूका लागि तयारी गर्ने भन्यो ।

‘दिदीको घर पुगियो, बाहिर एकजना महिला थिइ्न् । उसले ‘दिदी ठिक छ ? भान्जाभान्जी खै त’ भन्यो । यति भनेपछि मैले उसको दिदीकै घर रहेछ भन्ने विश्वास भयो । राति ८ बजे खाना खाइयो अनि म आफ्नो कोठामा आएँ । र उ पनि पछिपछि आयो । भोलि हुने अन्तरवार्ताको बारेमा केहि कुराकानी भयो । धेरैबेरसम्म घिमिरे मेरो कोठाबाट निस्केन । सुत्ने बेला भइसकेको थियो । मैले चलाइरहेको मोबाइल खोसेर खाटमुनि फालिदियो ।
त्यसपछि मलाई उसको नियत ठीक छैन भन्ने लाग्यो । त्यसअघिसम्म आफू सुरक्षित छु जस्तो लागे पनि त्यसपछि मलाई औधि डर लाग्न थाल्यो । म भयभित भएँ । मैले डरले काम्दै तपाईँ अब जानूस् भने । ऊ उठ्यो । ढोका तिर गयो । मन केही शान्त भयो । तर उ ढोकाबाट निस्कने । बरु ढोकाको चुकुल लगायो । अब म मर्नु न बाँच्नुको दोसाँधमा पुँगे । मेले भनेँ के गरेको यस्तो ?
उसले जवाफ दियो ‘यहि दिनका लागि मैले ६ महिनादेखि योजना बनाएको ।’ मैले केहि सोच्न सकिन मैले रुँदै भने, ‘यसो नगर्नुस् मेरो जिन्दगी बर्बाद हुन्छ,’ केहि सिप लागेन म चिच्याउन थाले तर,उसले मेरो घाँटी अठ्यायो । उसले फेरि भन्यो, ‘हल्ला नगर यहाँ कसैले तेरो उद्धार गर्दैन । मेरो केहि सिप चलेन मध्यरातमा त्यसले मेरो सर्वश्व लुट्यो । जबरजस्ती गरेपछि उ मस्तले निदायो । मेरो जीवनभरको निद्रा बिथोलियो । म बेचैन भएँ । अध्याँरो रातमा मैले आफ्नो जीवन समाप्त भएको, बाँकी जीवन अध्यारो मात्रै रहेको देखेँ । साथमा सल थियो । एक मनले सोँचे बलात्कारपछिको तिरस्कृत जीवन जिउँनु भन्दा मर्नु नै बेस छ ।
सिलिङको फ्यानमा झुन्डिने सोच आयो । तर त्यो साहस गर्न सकिँन । अर्को मनले सोँचे, यस्तो निर्दयीले त मार्न सकने, अब म किन मरुँ ? यो अत्याचारको बदला नलिइ कसरी मर्नु ? न्यायको लडाइँ नलडि कसरी मर्नु ? मर्न हैन लड्न साहस जुटाएँ । खाटमुनिबाट मोबाइल टिपेँ । साथीलाई फोन लगाएँ । त्यसले सुन्ला भन्ने डरले केही बेर फोन उठे पनि केही बोलिँन । उताबाट साथीको एसएमएस आयो । लेखिएको थियो, ‘के भयो’ मैले जवाफ फर्काए ‘म आपतमा छु, मेरो अस्मिता लुटियो, तिमी भोलि बिहान ७ बजेसम्म आइपुग, यहाँ घरिपाटन आँखा अस्पताल छेउमा ।’ फेरि मेरो मोबाइलमा एकजना पत्रकार साथीको फोन आयो, त्यसपछि इन्सेक भन्ने संस्थाकी दिदीको ।
उनीहरुले नआत्तिनू भनेर सम्झाए । उनिहरुले ‘पुलिस पठाइदिन्छौँ तिमी बाहिर निस्कनु ।’ यस्तो एसएमएस आएपछि मैले चुपचाप आफ्ना एकसरो कपडा समहालेँ । खाटबाट उठेर भाग्न लाग्दा मुटु ढक्क फुलेर बन्द भएजस्तो भयो । जिउ पुरै काम्यो । बिस्तारै चुक्कुल खोलेर बाहिर निस्किएँ । ढोका थुनिदिएँ र ट्वाइलेटमा लुके ।
बिहान ३ बजे पुलिस आयो र उसलाई समात्यो । अनि प्रहरीकै गाडिमा घिमीरे सँगै म पनि जिल्ला प्रहरी कार्यालय काँस्की पुग्यौं । विहान ८ बजेतिर साथीहरु आईपुगे । त्यो बेलासम्म प्रहरीले खासै मेरो स्वास्थ्यको वास्ता गरेको थिएन । साथीहरुको दबाब पछि प्रहरीले बेलुका ८ बजे स्वास्थ्य परिक्षण गरायो । १७ गते घटना घट्यो तर प्रहरीले अनेक बहाना बनाएर २२ गते मात्र उजुरी लियो । प्रहरी उजुरी नलिने पक्षमा थियो । जाहेरी लिँदै गर्दा पनि जिल्ला प्रहरी कास्कीका एसपी रमेश भट्टराईले ‘तिमीले यो मुद्धा हार्छौ, फिर्ता लिउ’ भनेर पटक पटक भनेका थिए ।
मलाई अचम्म लाग्यो, जहाँ म न्यायको याचना गरेर आइपुगेँ, त्यहीँ मलाइ जाहेरी फिर्ता लिन दबाब दिइयो । बलात्कृत भएकी छु भन्दा पनि प्रहरीका उपल्लो तहका अधिकारीको त्यो शैलीले मलाई कस्तो समाजमा बाँचिरहेकी छु जस्तो लाग्यो । तर, मलाई विश्वास थियो, म अन्यायमा परेको छु जे परे पनि म लड्न तयार हुन्छु भन्दै जाहेरी दिएँ ।
मेरो जाहेरी २२ गते दर्ता भयो । . घिमीरे जसले मेरो सर्वश्व लुट्यो उसका परिवारबाट पटक पटक आश्वासन र धम्की आए । मैले कसैको कुरा सुनिन । लडिरहेँ ।
मलाई सँधै लागिरहन्थ्यो, पहिले झै जस्तो समाजमा हाँसेर बाच्न पाउँ । साथीहरुले पहिलेको जस्तै माया गरुन् । तर मैले पाउन सकिन । मिल्ने साथीहरु पनि मेरो कुरा काट्दै हिँड्थे । अरु समुहमा हिँड्थे म एक्लै हिँड्थे । म समस्या र चुनौतीका थुपै्र थुप्राले थिचीएकी थिएँ । घटना सार्वजनिक भईसकेकोले गर्दा मेरा लागि समाजका तमाम् मानिसहरु यादव घिमिरे सरह जस्ता लाग्थे । किनभने जसको मैले केही बिगारेकि थिइँन, उनीहरुसँग पनि लड्नु पर्ने अवस्था आयो ।
अरु त अरु मलाई सरकारी वकिलले पनि सहयोग गरेनन् । प्रहरीले जाहेरी फिर्ता लिनु भनेर पटक पटक भनेको थियो । वकिलहरुले समेत मलाई कमजोर बनाउन बकपत्रको सुचनानै दिएनन् । अरुबाटै मलाई सामान्य खबर आउथ्यो । पोखराबाट एकजना वकिलले आज तिम्रो बकपत्र हो भनेर फोन गरे । त्यसलगत्तै मैले सरकारी वकिललाई ‘सर आज मेरो बकपत्र हो भनेर फोन गर्दा हो तिमीले आउनु पर्दैन भने ।’ विश्वास गरेर बसेँ । त्यो वेला चुनाव संविधानसभाको चुनाव आईरहेको थियो ।
मन भरि पिडा भएपनि म आफ्नो कामलाई निरन्तरता दिईरहेकी थिएँ । मतदाता शिक्षाको बारेमा ३ गाविसमा ट्रेनरको रुपमा म पनि खटिएकी थिए । त्यहाँकै इन्सेकमा काम गर्ने दिनी र म दिदीको काम दिएर अदालत गएका थियौँ । त्यहाँ मेरै केशको बारेमा कुरा हुँदै रहेछ । मेरै गल्ति भनेर कुरा हुँदै थियो । त्यहाँ मैले घटनाको बारेमा सकै कुरा बताए ।
त्यसपछि एकजना पूर्वन्यायाधीशले मलाई भने तिमीले मुद्धा लड्नुपर्छ । मुद्धा लडेनांै भने तिमी हार्नेछौ । मुद्धा लड गल्ति तिम्रो होइन रहेछ ।’ तिमी लड भनेर भन्नुभयो । त्यसपछि म त्यहीँबाट ट्याक्सी लिएर एक्लै पोखरा गएँ । प्रहरीबाट बकपत्रको लागि चिठी लिएँ र सरकारी वकिलको हस्ताक्षर लिन पुगेँ । मैले वकिललाई साइन गर्न भने तर, वकिलले तिमी यहाँ नआउ यो मुद्धा फिर्ता लेउ भनेर मलाई हप्काए । त्यो वकिलसँग पनि लड्नु पर्ने भयो । म लड्न तयार भए । र बकपत्र लिएर फेरि अदालतमा गएँ । फेरि नयाँ एफएम मा काम शुरु गरेँ ।
घटनाको एकवर्ष पछि २०६५,माघ २९ गते जिल्ला अदालत कास्कीले मुद्दामा फैसला गर्यो । बलात्कार गरेको ठह¥यायो । अदालतले २९ माघ २०६५ पीडक घिमिरेलाई ६ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दियो । कास्की जिल्ला अदालतको फैसलाअनुसार घिमिरे एक वर्ष नौ महिना कैदमा प¥यो । तर, पुनरावेदन अदालत गयो । पुनरावेदनले उसलाई सफाइ दियो ।
८ महिनामै पुनरावेदनले जिल्ला अदालतले दोषी ठह¥याएका लाई सफाइ दियो ।
मेडिकल रिर्पोट कमजोर भएको र घिमिरेले यौनसम्पर्क राखेको होइन भनेर दिएको बयानलाई आधार मानेर पुनरावेदन अदालतले फैसला गरेको रहेछ । पुनरावेदनले सफाइ दिएपछि जेलमुक्त भयो । १ वर्ष ९ महिना जेल बसेर उ टेलिकमको जागिरमा फर्कियो ।
पोखराको फैसलाविरुद्ध फेरि २०६६ फागुन २५ गते म सर्वोच्च गएँ । न्यायको अन्तिम आश लिएर म सर्वोच्च धाउँथे । कहिले विपक्षीले पेशी सार्छ कहिले अदालतले हेर्न भ्याउँदैन । कहिले आफ्नो पक्षका वकिलले समेत धोका दिन्छन् । न्याय पाउन पनि उनले लामो संघर्ष गर्नुप¥यो । सर्वोच्चमा मुद्दा दायर भएपछि २६ पटकसम्म मुद्दा पेसीमा चढ्दै अड्किएर बस्यो । न्यायाधीशहरूले पटकपटक कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याउने भन्दै पन्छाइरहे ।
२०६७ सालमा म काठमाण्डु आए । एउटा एफएममा काम गर्न थाले । अनि मलाई सर्वोच्च धाउन पनि सजिलो भयो । त्यसपछि मेरो फेसबुक र ईमेल सबै ह्याक भए । मेरो फेसबुकबाट साथीभाइ र चिनजानका मान्छेलाई तथानाम गाली र फोहोरी शब्द जान थाले ।
कति ठाउँमा स्पष्टीकरण दिँदै हिँड्न प¥यो । कसैले मेरो अकाउन्टबाट साथीहरुलाई मार्नेसम्मको धम्की दिन थाल्यो । म दिनदिनै आतंकित भएँ ।
मेरो फेसबुक, इमेल अरुकै नियन्त्रणमा पुगे । मोबाइल नम्बर कसैले ट्यापिङ गर्यो । तनाबले केही काम गर्नै सकिन । एफएममा रातिको ड्यूटी थियो । असुरक्षित हुँदै गइरहेको थियो दैनिकी । त्यसपछि म प्रहरीकोमा पुगेँ । त्यसपछि घिमीरे भद्रकालीको टेलिकममा कल डिटेल्स निकाल्ने काम गर्दो रैछ । स्याङजाबाट सर्वोच्चमा मुद्धा दायर भएपछि काठमाण्डु आएको रहेछ । मैले कतैबाट आफूलाई सुरक्षीत महशुस नभएपछि मैले देशै छोडे ।
डेढ वर्ष नेपाल बाहिर बसेँ । तैपनि मनमा चैन भएन । मुद्दा त नेपालमै थियो । लड्नु त यहीँ आएर थियो । मलाई न्याय नपाएसम्म जहाँ गएपनि शान्ति भएन । फेरि नेपाल फर्किएँ । मलाई सबैभन्दा बढी परिवारको साथ थियो । अनि संघ–संस्थाले पनि साथ दिएकै हो ।
८ वर्षको लडाइँ पश्चात मैले न्यायको अनुभूति गरेँ । २०७१ साल पुस ३ गते सार्वोच्चले घिमीरेलाई दोषी ठह¥याई ५ वर्ष कैद र १ लाख ५० हजार क्षतिपुर्तिबापत पीडितलाई दिने भन्ने फैसला ग¥यो । तर सर्वोच्चको आदेशमा पीडितले पीडकको जाहेजेथा देखाएमा त्यसैबाट क्षतिपर्ति पाउने भन्ने फैसला थियो ।
अब मैले कसरी पाउने क्षतिपूर्ति मलाई उ चितवनमा बस्छ भन्नेसम्म थाहा थियो । तर कहाँ के मलाई केहि थाहा थिएन । म चितवन गएँ र मालपोतमा उसको जग्गा र सम्पत्ति खोजतलास गर्दा कहीँ बाट पत्ता लागेन । त्यपछि म काठमाण्डु फर्किएँ । र अन्तमा मैले सोचे उसको टेलिकममा जागिर थियो त्यहि केहि हुन्छ कि भनेर गएँ । त्यहाँ यादवको केहि पैसा बाँकी रहेछ र पैसा रोक्का गरेर मैले आफूले पाउने क्षतिपुर्ति त्यहिबाट पाएँ । त्यो डेढ लाख त मेरो लागि केहि हैन । मैले ८ वर्षसम्म पाएको शारिरीक र मानसिक पीडा त अर्बौ खर्च गर्दापनि फर्काउन सकिँदैन । जे नहुनु थियो त्यहि  भैसक्यो । अब बाँकी जिवन संघर्ष गर्छु ।
मैले क्षतिपूर्तिबापत पाएको पैसा मेरो मात्रै हैन हामी जस्ता अन्यायमा परेका दिदीबहिनीको हो । त्यहि भएर मैले यहि डेढ लाखको अक्षय कोष स्थापना गर्ने सोच बनाएँ र अहिले मैले त्यो पैसा क्रियाशील पत्रकार महिला समुह (डब्लुडब्लुजे) को नाममा एउटा कोष खडा गरे । म जस्तो पीडामा पर्ने दिदीबहिनीहरुको लागि केहि हुनेछ भन्ने आशा गरेकी छु । यसमा सबैले साथ दिनुहोला ।

(पीडित (रस्मिला तामाङ)सँग सरला कट्टेलले गर्नुभएको कुराकानीमा आधारित । पीडितको नाम परिवर्तित हो ।)
kathmandutoday.com

Write Comment Below:

No comments:

Post a Comment