Thursday, August 20, 2015

भाडाको कोखमा के खराबी छ ?

सरोगेसी या योसँग जोडिएको 'सरोगेट मदर' बारे पछिल्ला समयमा विभिन्न मत बाहिर आएका। सरोगेसीको खास अर्थ हो, नायब। यसो हुँदा सरोगेट मदरको मतलब हुन जान्छ, नायब आमा। नायबको अर्थ हो, निमित्त। निमित्तको अर्थ हो, ‘केही समयका लागि काम गर्नेवाला।'

निचोडमा, अहिलेको प्रचलनको सरोगेट मदरको खास अर्थ हो, भाडामा कोख उपलब्ध गराउने आमा। उसो त अरूले पाएका बच्चालाई लालनपालन गर्ने र तिनलाई उज्ज्वल भविष्य दिने आमा या बाबुहरूलाई पनि सरोगेट मदर र सरोगेट पिता नै भनिन्छ।


आफूबाट सन्तान प्राप्त नभएका कारण अरू कसैको बालबालिकालाई संरक्षण गर्ने र हुर्काउनेहरूलाई हामी नेपाली धर्म पिता र धर्म माताका रूपमा बुझ्छौं। धर्म पिता र माताहरूले जीवनभर बच्चाको लालनपालन मात्रै नगरेर बिहावारी गरिदिएर सम्पत्ति र वंशजकै भागीदारसमेत बनाउँछन्।


तर यहाँ चर्चा गर्न लागिएको सरोगेट मदरचाहिँ कसैको भ्रूण आफ्नो गर्भमा प्रत्यारोपण गरेर जन्माइदिने आमाबारेको हो। यस्ता आमाहरूलाई ‘जेस्टेसनल मदर’ अर्थात् 'भ्रूणावधिको आमा' पनि भनिन्छ ।

केही समयका लागि आमाहरूको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रचलन नेपालमा भित्रिएको र यसले पार्ने दीर्घकालीन र अल्पकालीन असरका बारेमा विभिन्न कोणबाट बहस चलिरहेकाले यस विषयमा केही लेख्नु आवश्यक लाग्यो।

जन्माउनु प्रकृतिको संस्कार हो। प्रकृतिका हरेक वनस्पति र प्राणी प्रजननका लागि जागृत हुन्छन्। हामीलाई पृथ्वीभित्रका प्रजनन प्रक्रियाबारे जति जानकारी
छ, त्यसबाट हामी के अनुमान लगाउन सक्छौं भने यो जगत् चल्नुमा सबैभन्दा बढी जिम्मेवार प्रजनन इच्छा छ।

खासगरी जीवजन्तुका आमाहरूमा प्रजननको चाहना उत्कट हुन्छ। आमा बन्ने रहर प्रायः हरेक स्त्रीजातिमा विद्यमान हुन्छ। तर पनि विभिन्न जैविक कारणले कतिपय आमा प्रजननका लागि सक्षम हुँदैनन्।

वंश सञ्चालनका लागि सन्तान प्राप्त गर्ने अभिप्सा उनीहरूमा भए पनि, वयस्क हुँदाहुँदै पनि, प्रजननका लागि उपयुक्त ओभम् र स्पर्म उपलब्ध हुँदाहुँदै पनि केही शारीरिक असमर्थताका कारण मात्रै उनीहरूले आफ्नै गर्भभित्र बच्चा हुर्काउन असमर्थ भएका हुन्।

तर चमत्कारी विज्ञानले अनुर्वर आमाहरूलाई आफ्नै वीज अरू कसैको गर्भमा प्रत्यारोपण गराएर आमा बन्ने बाटो खोलिदिएको छ। आजको दिनमा आफ्नो पुरुष मित्रको स्पर्म र आफ्नो ओभम्लाई फर्टिलाइज गराएर दोस्रो कोही सक्षम महिलाको कोखमा बच्चा हुर्काउन सकिने भएको छ।

हाम्रो समाजमा यो नौलो विषय हो, तर महँगो भए पनि पश्चिमा समाजका कतिपय देशमा यो प्रचलित व्यवहार हो। अवश्य पनि, कसैको बच्चा आफ्नो पेटमा नौ महिनाको अवधिसम्म हुर्काउनु र बच्चा आफ्नो पेटमा रहेका कारण हुने शारीरिक परिवर्तन झेल्नु महिलाका लागि चुनौतीपूर्ण विषय हो।

बढेको पेटको बारेमा आफन्तलाई हुने जानकारी र अन्त्यमा त्यो बच्चा आफूले र अन्य आफन्तले समेत हेर्न र देख्नसमेत नपाउनु तथा समाजले त्यस विषयलाई कसरी लिन्छ भन्ने विषय सोचनीय हो। हरेक विषयमा चियोचर्चो गर्न चाहने हाम्रो समाजले एउटी महिलाका यी सारा व्यवहार र गतिविधिलाई कसरी लिन्छ ?
कसैको खुसीका लागि कोही बच्चा जन्माउन सक्षम स्त्रीले आफ्नो कोख सहयोग गर्नु उचित देखिन्छ। पापहरूमध्ये महापाप जीवहत्या हो, तर यो अद्भुत जगत्मा कसैलाई जीवन दिनु र जन्माउन सहयोग गर्नु जति खुसीको कुरो के हुन सक्छ?
यही विषयलाई लिएर एउटी महिलाको मनमा उर्लने हुनडरीहरू सरोगेसीको मनोवैज्ञानिक पाटो हो। तर उत्तिकै सोचनीय विषय हो, निःसन्तान बाआमाले भोग्ने दर्द। उनीहरूका तर्फबाट यो विषयलाई हेर्ने हो भने यो विषय अत्यन्तै पुण्यकारी छ। सन्तान प्राप्ति नभएर अत्तालिएका मातापिताका लागि सरोगेसी वरदान हो।

त्यसमाथि सरोगेसीका यी सारा आयामहरूलाई बुझ्न सक्ने, चुनौतीलाई सहज रूपमा झेल्न सक्ने र यसअघि कमसेकम एउटा बच्चा पाइसकेको महिला मात्रै सरोगेट आमाका लागि चुनिने प्रचलन छ । तर पनि सरोगेसी संवेदनशील विषय हो।

यो सत्य हो, हामी आर्थिक रूपमा पिछडिएका छौं जसका कारण केही पैसाको लोभमा नौ महिनासम्म कसैको भ्रूण बोक्न हाम्रा आमा, भाउजू र दिदीबहिनीहरू तयार छन् । तर योसँग जोडिएका केही अन्य विषय पनि छन् जसलाई अझै स्पष्ट पार्दा सरोगेसीका केही भ्रमबारे हामी मुक्त हुन सक्छौं।

अहिले पनि नेपालका केही सीमित अस्पतालहरूमा वीर्य बैंकहरू क्रियाशील छन्। अस्पतालमा गएर वयस्कहरूले आफ्नो त्यहाँ आफ्नो वीर्य बेच्न सक्छन् ।
स्मरण रहोस्, एक थोपा वीर्यमा करोडौं जीवन हुन्छन्। रक्तदानको प्रचलन त नेपालमा धेरै पुरानो हो। आँखादान र मिर्गौला दान पनि आज उत्तिकै प्रचलित छन्।

यी विषय पनि, हाम्रो समाजको धर्म, संस्कृति र प्रकृति नियाल्ने हो भने गम्भीर हुन् । तर रक्तदान, मिर्गौला दान, आँखादान र शरीरको अन्य अंग प्रत्यारोपणको विषयलाई हाम्रो समाजले सहज रूपमा स्वीकार गर्‍यो।

सँगसँगै वीर्यदान या वीर्य बिक्री पनि अस्पतालमा सहज रूपमा भइरहेका छन्। उल्लिखित यी विषयमा कुनाकन्दरामा केही चर्चा चले होलान्, तर सरकार, सहरी समाज र मिडियाहरूले सहजै स्विकारे।

गरिबीका कारण अहिले पनि कतिपय मान्छेहरू भारतमा गएर आफ्ना मिर्गौला बेचिरहेका छन्। पैसाको लोभकै कारण काठमाडौंबाटै कतिपय कल्याणकारी भनिएका संस्थाहरू गाउँका बालबालिका पश्चिमाहरू अनेक प्रपन्च मिलाएर बेचिरहेका छन्।

यसबारे हाम्रो सरकार संयन्त्र बेखबर छ या थाहा भए पनि केही थान बिटामा ती गोरखधन्दा चुपचाप चलिरहेछ। तर सरोगेसीका बारेमा पछिल्लो चिन्ता देख्दा लाग्छ, सरोगेसीका कारण देशमा बर्बादै हुनेवाला छ।


व्यक्तिको शरीरमाथीको हक ऊ आफूलाई हुन्छ। आफ्नो कोखको अधिकार हरेक स्त्रीको अधिकार हो। कोही विदेशीले नेपालका सीधासोझा दिदीबहिनीहरूलाई ललाइफकाई सरोगेट आमा बनाउँछ भने त्यो अपराध हो।

त्यसलाई सम्बोधन गर्ने कानुन बनाएर त्यस्तालाई कारबाही गर्नुपर्छ तर मन्त्रिपरिषद्ले पारित गरेको सरोगेसीसम्बन्धी कानुन संसद्ले यथासम्भव छिटो बनाएर पारित गर्नुपर्छ। विदेशीका कुरा छोडौं, यसै देशभित्र पनि आफ्नो अस्वस्थताका कारण कतिपय आमाबा सन्तान सुखबाट बन्चित छन्, तिनको खुसीका लागि पनि कानुनले नै सरोगेसी आमाका लागि उचित व्यवस्था गर्नुपर्छ।

किनकि कसैको खुसीका लागि कोही बच्चा जन्माउन सक्षम स्त्रीले आफ्नो कोखलाई सहयोग गर्नु उचित देखिन्छ। पापहरूमध्ये महापाप जीवहत्या हो, तर यो अद्भुत जगत्मा कसैलाई जीवन दिनु र जन्माउन सहयोग गर्नुजति खुसीको कुरो के हुन सक्छ ?
annapurnapost.com

Write Comment Below:

No comments:

Post a Comment