Friday, August 28, 2015

“हाम्रो खुसी चुँड्नेमाथि कारबाही होस्”

भाद्र १२, २०७२- कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका ९ की मन्धरा विष्ट ५ दिनदेखि अर्धचेत अवस्थामा छिन् । घरमा कोही नयाँ व्यक्ति आएको देख्नेबित्तिकै डाको छोडेर रुन्छिन् । केही छिनपछि ओछ्यानमा ढल्छिन् । गत सोमबार टीकापुरमा भएको हिंसात्मक झडपमा परी श्रीमान् (प्रहरी निरीक्षक बलराम विष्ट) को मृत्यु भएको खबर सुनेदेखि उनी पटकपटक अर्धबेहोस भइन् । प्रहरी निरीक्षक बलरामकी आमा ८० वर्षीया वृद्धा बेलुदेवीको पनि अवस्था उस्तै छ । उनी पनि बेलाबेलामा डाको छोडेर रुन्छिन् र छोरा आउने बाटो हेरेर बस्छिन् । उनलाई त छोराको मृत्यु ठट्टाजस्तै लागेको छ । छोराले कति बेला कहाँबाट बोलाउँछ पनि भइरहेको छ । ‘उसको ठाउँमा मैले गइदिएको भए हुन्थ्यो,’ रुँदै कराउँदै उनले भनिन्, ‘अब यी केटाकेटी कसले हेर्ने ?’

मृतक विष्टका ३ छोरी र १ छोरा छन् । जेठी छोरी वसन्तीले स्टाप नर्स भ्याएकी छन् । माइली छोरी १२ र कान्छी ६ मा पढिरहेकी छन् । छोरा गोविन्द ९ कक्षामा छन् । उनीहरू सबै धनगढीमै बसेर पढिरहेका थिए । जेठी छोरी वसन्तीलाई पनि बुवाको मृत्युको घटना पत्याउनै नसकिने भएको छ । ‘हामीलाई अरू केही चाहिँदैन,’ उनले भनिन्, ‘हाम्रो बुवालाई मार्नेमाथि कारबाही होस् ।’ उनले प्रहरीहरूलाई नै अमानवीय ढंगले मार्नेमाथि कारबाही गर्न नसके अन्यले न्यायको आशा गर्न नसक्ने बताइन् ।
विष्टका परिवारले घटनाका दोषीहरूलाई कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् । ‘हामीले आफ्ना परिवारको सदस्य मात्रै गुमाएनांै एउटा अभिभावक पनि गुमाएका छौं,’ मृतकका भाइ धर्मसिंह विष्टले भने, ‘ड्युटीमै खटिएका सुरक्षाकर्मीलाई यति क्रुर ढंगले मार्नेलाई कारबाही नगरी छाड्नु हँुदैन ।’ उनी प्रहरीका सई हुन् । ‘जुनसुकै युद्धमा पनि नियम हुन्छ, हतियार नभएको तथा शरणमा गएको सिपाहीलाई संरक्षण दिनुपर्छ,’ उनले भने, ‘तर टीकापुर घटनामा ज्यानको भिक माग्नेलाई पनि छाडिएन ।’
घटना भएको दिन उनी कञ्चनपुरको ब्रह्मदेव प्रहरी चौकीमै कार्यरत थिए । उनकै स्टाफले टीकापुरमा झडप भएको र केही प्रहरीसमेत हताहत भएको सुनाएपछि उनी झस्किए । तर उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत आफ्नै दाजु त्यसरी मारिएलान् भन्ने लागेको थिएन । ‘तैपनि एकपटक दाइसँग कुरा गर्न खोजे तर दुइटै फोन स्विच अफ थिए,’ उनले भने, ‘त्यसपछि भने मलाई डर लाग्न थाल्यो, खोजी गर्दै जाँदा दाइको पनि मृत्यु भएको खबर पाएँ ।’ उनले जिल्ला प्रशासन कार्यालयले आन्दोलनमा खटिने सुरक्षाकर्मीले हतियार नबोक्ने निर्णय गरेका कारण पनि ठूलो क्षति बेहोर्नुपरेको बताए ।
मृतक विष्टका अर्का भाइ भरत सशस्त्र प्रहरीका सई हुन् । उनी डडेलधुराको जोगबुढामा कार्यरत छन् । तीनै जना भाइको भेट साउन १५ मा भएको थियो । झलारी पिपलाडी नगरपालिकाकै कलुवारपुरमा बनाएको नयाँ घरका पूजापाठ भएकाले उनीहरू सबै त्यही दिन घरमा आएका थिए । ‘त्यही बेला दाइले तलाई एउटा काम दिन्छु त्यो गर्नुपर्छ भनेका थिए,’ भरतले भने, ‘भदौ २ गते पनि हाम्रो फोनमा कुरा भएको थियो, त्यति बेला पनि २/४ दिनमा घर आएर काम दिन्छु भनेका थिए, त्यो काम के रहेछ भन्ने पनि थाहा पाइएन ।’ उनले सबै भाइ सुरक्षा निकायमै कार्यरत भएकाले घरमा पनि दाइकै अनुशासनमा चल्ने गरेको बताए । २०४५ मा असईमा भर्ना भएका विष्ट २०६४ मा प्रहरी निरीक्षक भएका थिए । उनी सेवा अवधिका कारण साढे ३ वर्षपछि अवकाश पाउँदै थिए । उनको परिवार २०५० मा बैतडीको रौलेश्वर गाविस ९ कारिकोटबाट झलारीमा बसाइ सरेको हो ।
नेगी परिवार पनि उस्तै
गत सोमबार टीकापुरको झडपमा परी वरिष्ठ प्रहरी उपरीक्षकसहित ८ सुरक्षाकर्मी र २ वर्षे बालकको समेत मृत्यु भएको थियो । प्रहरी हवल्दार जनक नेगीबाहेक बाँकी सबैको घटनास्थलमै मृत्यु भएको थियो । कञ्चनपुरकै झलारी पिपलाडी नगरपालिका ६ कसरौलका नेगीको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो । उनको बिहीबार महाकाली नदीमै अन्तिम संस्कार गरिएको छ । नेगी घाइते भएको खबर सुनेदेखि बिरामी भएका उनका बुवा वीर सिंह थला परेका छन् । विपन्न परिवार भएकाले उनीहरूलाई अझ बढी समस्या भएको छ । ‘घटना भएको दोस्रो दिन मैले
कुरा गरेको थिएँ,’ मृतकका काका राज नेगीले भने, ‘त्यति बेला
ठीकै छ, निको भइहाल्छ भन्दै
थियो तर बिहीबार बिहान फोन आउँदा त मृत्यु भइसक्यो भन्ने खबर पायौं ।’
जनककी श्रीमती २ छोरी र १ छोरा छन् । एक भाइ रोजगारीका लागि मलेसियामा पुगेका छन् । विष्ट र नेगी दुवै जना मिलनसार र सहयोगी भएकाले उनीहरूको परिवारसँगै गाउँ नै शोकमा डुबेको छ । दुवै जना एउटा नगरपालिकाकै भएका कारण पनि अझ बढी पीडा थपिएको स्थानीयवासी बताउँछन् ।


सोमबार टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक बलराम विष्टकी ८० वर्षीया शोकाकुल आमा बेलुदेवी । तस्बिर : भवानी/कान्तिपुर   kantipur.ekantipur.com

Write Comment Below:

No comments:

Post a Comment