Sunday, August 23, 2015

मन्त्री बन्ने आश्वासनमा हत्या गरेको बयान

काठमाडौँ ७ भदौं । सर्वाेच्च अदालतका न्यायाधीश रणबहादुर बमलाई गोली हान्ने अभियुक्त सञ्जय इस्माली मगरलाई साउदीबाट नेपाल ल्याइएको छ । मन्त्री बन्ने सपनामा आफूले बमलाई गोली हानेको उनले बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले खबर लेख्नुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मगरलाई साउदी अरेबियाबाट पक्राउ गरी आइतबार नेपाल ल्याएको हो ।
उनले प्रहरीसँग न्यायाधीशको हत्या गरेपछि चुरे भावर पार्टी सरकारमा जाने र त्यसपछि मन्त्री बन्न पाइने आश्वासनमा बमलाई गोली हानेको बताएका छन् । ‘बाबु थापाले न्यायाधीशलाई मारेपछि म ठूलो मन्त्री हुन्छु, तँलाई मन्त्री बनाउँछु भनेको थियो,’ पक्राउ गरेर ल्याएपछि मगरले भने, ‘मन्त्री बनेपछि प्रशस्तै पैसा पनि कमाइने प्रलोभनमा परेर गोली हानेको हुँ ।’ चुरे भावर पार्टीका नेता बाबु थापा भनिने मेघबहादुर थापाको योजनामा न्यायाधीश बमको १८ जेठ ०६९ मा ललितपुरको युएनपार्कनजिकै गोली हानेर हत्या भएको थियो । बंगलामुखी मन्दिर दर्शन गरी कार्यालयतर्फ जानेक्रममा उनी चढेको गाडी रोकेर गोली हानिएको थियो । बमलाई गोली हान्नेमध्ये प्रमुख व्यक्ति मगर भएको सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्लले बताए । ‘गाडी रोकेपछि पिएसओले छेक्न खोज्दा पिएसओलाई नै गोली हानी घाइते बनाएर न्यायाधीशमाथि सञ्जयले गोली हानेका थिए,’ डिआइजी मल्लले भने । चुरे भावर पार्टीको आधिकारिता विवादमा न्यायाधीश बमले आफूलाई हराएको प्रतिशोध लिन थापाले उनको हत्या गर्ने योजना बनाएका थिए । बमको हत्या गरेपछि पार्टी चर्चित हुने र आफूहरू मन्त्री बन्ने योजना थापाले बनाएको र त्यही योजनामा लागेर बमलाई गोली हानेको मगरले बताएका छन् । तर, बमको हत्यापछि मगरले जागिरसमेत नपाएपछि वैदेशिक रोजगारीमा २८ मंसिरमा साउदी अरेबिया गएका थिए । त्यहाँ ट्रकड्राइभर भएर उनले काम गर्दै आएका थिए । नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा कूटनीतिक पहल गरी मगरलाई साउदीबाट नेपाल ल्याएको हो । नेपाल प्रहरीको आग्रहमा साउदी प्रहरीले गत चैतमा मगरलाई पक्राउ गरेको थियो । त्यहाँको अदालतले डिपोर्ट गर्न अनुमति दिएपछि नेपाल प्रहरीको टोली साउदी गएर उनलाई ल्याएको हो । विदेशमा भएकाले आफूलाई प्रहरीले पक्राउ गर्न नसक्ने भन्दै मगर ढुक्क थिए । पक्राउ गरेर नेपाल ल्याउँदा पनि उनी दु:खी देखिएनन् । प्रहरी कार्यालयमा हाँसी–हाँसी नै उनले आफ्नो अपराधको नालीबेली खुलाए । घटनाबारे प्रमुख अभियुक्त थापाले भनेको कुरासँग उनले भनेको कुरा मिलेको सिआइबीका इन्स्पेक्टर दधि न्यौपानेले बताए ।ww.etajakhabar.com

Write Comment Below:

No comments:

Post a Comment