Friday, August 21, 2015

खानालाई विषाक्‍त बनाउने खतरनाक ब्याक्टेरियाहरू

ब्याक्टेरिया मानिस, जनावर, खाना, माटो, पानी आदि जहाँ पनि पाउन सकिन्छ । धेरै ब्याक्टेरिया हानिकारक हुँदैनन्। केहीले त फाइदा पनि गर्छ।

दूध या चीज बनाउँदा ब्याक्टेरिया प्रयोग गरिन्छ। तर दुई किसिमको ब्याक्टेरियाले खाद्यमा प्रमुख असर गर्छ। ती हुन्-स्पोइलेज र प्याथेजेनिक जीवाणु। स्पोइलेज जीवाणुले प्रोटिनलाई तोड्छ, यसबाट ढुसी आउने या गन्हाउने हुन्छ । यसबाट खाद्य विषादि त्यति हुँदैन।


प्याथेजेनिक जीवाणुु धेरै परिमाणमा खानामा भएमा खाद्य विषादी बनाउँछ र खानाको रूप, स्वाद या गन्ध कमै रूपमा परिवर्तन गर्छ। यी जीवाणु फस्टाउन पोषण, तापक्रम, समय, ओसिलो वातावरणमा भर पर्छ।


त्यसैले ७ र ६३ डिग्रीबीचको तापक्रमलाई 'खतराको क्षेत्र' भनिन्छ, किनभने यी बीचको तापक्रममा प्याथेजेनिक जीवाणुले खानालाई संक्रमण गर्छ।

त्यसैले चिसो खाने खाना जस्तो सलाद, दही, स्यान्डविज आदि ७ डिग्रीभन्दा मुनि र तातो खाने भए आफूले खाने खाना घटीमा ६३ डिग्रीभन्दा माथिको हुनुपर्छ।
आइसक्रिमजस्ता फ्रोजन खानाको तापक्रम १८ डिग्री या कम हुनुपर्छ।

खाना पाक्न ८५ डिग्री तापक्रम चाहिन्छ। तीस सेकेन्डसम्म लगातार नाप्दा यति तापक्रम हुनुपर्छ। खानालाई फ्रोजन गर्नुअघि चाँडो चिस्याएरमात्र डी फ्रिजमा राख्‍नुपर्छ । फ्रोजन खानाहरू एकपल्ट मात्र तताएर खानुपर्छ।

त्यसैले स्वस्थकर खानाका लागि 'बारीदेखि थालीसम्म' को हाइजेनिक नियम सबैले मान्‍नु जरुरी हुन्छ। यसको अर्थ खाना उब्जिएको सुरुको बिन्दुदेखि नखाउन्जेलसम्म गर्नुपर्ने हाइजिनको तरिका सबै अवस्थामा गर्नुपर्ने हुन्छ।

राम्रो हाइजिन नियम पालना नगरेमा खाना विषादी हुने प्याथेजेनिक जीवाणु फैलिँदै जान्छ। यसले धेरै खाना विषाक्त बनाई मानिस बिरामी पर्ने, अस्पताल जाने या जीवन नै जाने बनाउनसक्ने प्याथेजेनिक ब्याक्टेरिया र भाइरस अनि परजीवी मुख्यतया निम्न हुन् :

साल्मनेला: साल्मनेला भनेको ब्याक्टेरियाको समूह हो जसले संक्रमण बढाउँछ । साल्मनेलाको कारणले धेरै मानिस बिरामी हुन्छन्। यसले मुख्य गरी झाडापखाला लगाउँछ । यसले खासगरी गर्भवती महिला, बूढापाका, बच्चा र कमजोर पाचनक्रिया भएकालाई धेरै आक्रमण गर्छ । यसले अस्पताल नै बस्नुपर्ने पनि बनाउनसक्छ ।

साल्मनेला ब्याक्टेरिया मानिस तथा जनावरको आन्द्राभुँडी र ढलमा बाँच्छ । यसैले राम्रो हाइजिन र पकाउनेको तरिका नअपनाए यो सजिलैसँग फैलिनसक्छ।यो ब्याक्टेरियाका मुख्य स्रोतहरू नपाकेको अन्डा र कुखुराको मासु, काँचो दूध र दूधका परिकार हुन्। यो ब्याक्टेरिया भएको मानिसले छुँदा पनि खानामा सर्छ। जस्तो चर्पीमा गएर हात नधुनेले साल्मनेला सार्नसक्छ।

यो ब्याक्टेरियाबाट बच्न अन्डा, कुखुरा, मासु राम्रोसँग उचित तापक्रममा पकाउनुपर्छ। फलफूल, साग, तरकारी काट्नु र पकाउनुअघि राम्रोसँग धुनुपर्छ। यस्तै काँचो मासु, काँचो दूध र अरू काँचो खाद्यान्न अरूतिर मिसाउँदा राम्रो होश गर्नुपर्छ। भान्सा सफा राख्‍नुका साथै काट्ने चक्‍कु र बोर्ड पनि अलगअलग ठाउँमा राख्‍नुपर्छ ।

बसिलियस सिरिउस: यो ब्याक्टेरियाले खानामा तापबाट पनि केही नहुने एक्सोटक्सिन उत्पादन गर्छ। यसले पेट दुख्‍ने, झाडापखाला र बान्ता हुने गर्छ। खाएको २४ घन्टाभित्र यसको लक्षण देखिन्छ। यसका मुख्य स्रोतहरू चामल, मकै, सोया तथा यसका परिकार हुन्।

राम्रोसँग उचित तापक्रममा पकाउनु, पकाएर फ्रिजमा राख्ने भए चाँडै चिस्याउने, पुनः नतताउने, अरू संक्रमणबाट मिश्रित नगरेमा यसबाट बच्न सकिन्छ।

क्लोस्ट्रिडियम बोटुलिनम: यो ब्याक्टेरिया खानामा परेमा यसले तापबाट नष्ट नहुने न्युरोटक्सिन उत्पादन गर्छ। यसले स्नायु प्रणालीलाई आक्रमण गर्छ । पाँचदेखि १० प्रतिशतमा मानिसको जीवन जानसक्ने कारण पनि हुनसक्छ । यो माटो, मासु र माछा, क्यानमा राखिएको तरकारी आदिमा पाइन्छ।

यो खाएको १२ देखि ३६ घन्टामा यसको लक्षण देखिन्छ। यसले टाउको दुख्‍ने , धेरै थकाइ लाग्ने, झाडाबान्ता हुने आदि हुन्छ। यस ब्याक्टेरियाले स्नायु प्रणालीलाई आक्रमण गरे दृष्टि र बोलीमा असर पुर्‍याउँछ। आठ दिनपछि पनि एन्टी न्युरोटक्सिन नदिएमा ज्यानै पनि जानसक्छ।

क्लोस्ट्रिडियम परफ्रिन्जिन्स: यो किसिमको ब्याक्टेरिया हाम्रो वातावरणमा धेरै पाइन्छ । यी ब्याक्टेरियाको संख्या उपयुक्त वातावरणमा धेरै चाँडै वृद्धि हुन्छ।
यसका मुख्य स्रोतहरू मानिसको आन्द्राभुँडीमा र काँचो मासुमा, मुला, आलु, गाजरजस्ता माटोमा गाडिएका तरकारीमा पाइन्छ।

धेरै परिमाणमा यी ब्याक्टेरिया खाएमा पेट दुख्ने र झाडापखाला हुने गर्छ। 'खतराको क्षेत्र’मा यो ब्याक्टेरिया चाँडै नै फैलिन्छ। त्यसैले खानालाई राम्रोसँग उपयुक्त तापक्रममा पकाएर खानुपर्छ।

फ्रिजमा या फ्रिजरमा राख्‍ने हो भने नब्बे मिनेटभित्र चिस्याएर राखिहाल्नुपर्छ। याद गरौं, फ्रिज पाँच डिग्रीभन्दा कम र फ्रिजर १८ डिग्रीभन्दा मुनि हुनुपर्छ।

काम्पालोब्याक्टर: यो झाडापखाला लाग्ने अर्को प्रमुख ब्याक्टेरिया हो। कम पाकेको कुकुराको तथा अन्य मासु अनि यी मासुले छोइएको अरू खाना, काँचो दूध र यसका परिकार, फोहर पानी आदि मुख्य स्रोत हुन्, यो ब्याक्टेरियाको।

फ्रोजन गरे यो ब्याक्टेरियाको संख्या कम हुन्छ तर ब्याक्टेरिया मर्दैन। उपयुक्त तापक्रममा पकाएमात्रै मर्छ।

स्ट्यापोलोकोस्सस औरिउस: यो किसिमको ब्याक्टेरिया खासगरी मानिस र जनावरको छाला, घाँटी, नाकमा पाइन्छ। त्यसकारण खानामा नपरुन्जेल यसले नोक्सान गर्दैन।

जब यो खानामा पर्छ वा पारिन्छ, यो ब्याक्टेरियाको संख्या चाँडै वृद्धि भई यसले हानिकारक टक्सिन उत्पादन गर्छ। यो ब्याक्टेरियाको संक्रमणबाट पेट दुख्ने, झाडाबान्ता हुने हुन्छ। यसबाट बन्ने टक्सिन ब्याक्टेरिया तातोले मर्दैन, पकाउँदा पनि यी नास हुँदैनन्।

जुन खाना हातले छोएर बनाइन्छ र पकाउन नपर्ने जस्तै सलाद, पाउरोटी, स्यान्डविज, उसिनेर चिस्याइएको आलुु, अन्डा आदि यस ब्याक्टेरियाका मुुख्य जोखिमका स्रोतहरू हुन्।

यो ब्याक्टेरियाबाट बच्न राम्रोसँग साबुनले हात धुनुपर्छ। रुघाखोकी र आँखा पाकेको बेलामा, हात या नाडीको छालामा संक्रमण भएको बेलामा खाना बनाउनुु हुँदैन । साथै भान्छा सफा र खानाहरू ‘खतराको क्षेत्रमा राख्‍नु हु्ँदैन।

ई सच्चेरिचिए कोली: यो किसिमको ब्याक्टेरियालाई ई. कोलाई पनि भनिन्छ। यद्यपि धेरै ई. कोलाई ब्याक्टेरियाले नोक्सान गर्दैन तर केहीले चाहिँ धेरै बिरामी बनाउन सक्छ।

प्रायः मिडियामा ई. कोलाईले खाना विषाक्त बनाएको चर्चा हुन्छ। किनकि यो ब्याक्टेरियाको असर भयो भने धेरै बिरामी बनाउने या ज्यानै जाने पनि हुनसक्छ।
यो ब्याक्टेरियाको मुख्य स्रोत काँचो या कम पाकेको मासु, काँचो दूध या यसका परिकार आदि हुन्। हात धुनु, मासु राम्रोसँग पकाउनु, काँचो दूध नखानु, भान्छा सफा राख्‍नु आदिले ई. कोलाईबाट बच्न सकिन्छ।

लिस्टेरिया मोनोसाइटोजेनिस: यो ब्याक्टेरियाले वृद्ध, गर्भवती महिला, बच्चा, कमजोर पाचनक्रिया भएकालाई बढी असर गर्छ। लिस्टेरिया फ्रिजको तापक्रममा बढ्नसक्छ, जहाँ अरू ब्याक्टेरिया बढ्न सक्दैन। यो किसिमको ब्याक्टेरिया तयारी खाना, काँचो मासु, दूध र यसका परिकार, सामुद्रिक खानामा पाइन्छ।

खाना सही तापक्रममा पकाउने, हात धुने, सही रुपले खानाहरू राख्ने, सफा भान्छा, काँचो र पाकेको मासु अलगअलग राख्ने, फ्रिज सफा राख्नेजस्ता क्रियाकलापले यो ब्याक्टेरिया कम गर्न सकिन्छ।

नोराभाइरस: नोराभाइरस अर्को धेरै खाना विषाक्त बनाउने ब्याक्टेरिया हो । यसको लक्षण अरूजस्तै पेट दुख्‍ने, झाडापखाला, बान्ता हुने हुन्छ। यो सजिलैसँग मान्छेबाट मान्छेमा सर्छ। धेरै मान्छेको जमघटमा एउटालाई नोराभाइरस छ भने अरूलाई चाँडै सर्नसक्छ।

ताजा खाना, सामुद्रिक खाना, बरफ, फलफूल, तयारी खाना र त्यसमा पनि सलाद र भान्छेसँग नोरा भाइरस छ भने खानामा सजिलैसँग जान्छ।हात धुने, न्याप्किन र तन्ना फेर्ने, नोरा भाइरस भएकोलाई पकाउन नदिने, फलफूल सब्जी राम्रोसँग धुने, भान्छा सफा राख्ने आदि गरेमा नोरा भाइरसबाट बच्न सकिन्छ।

टोक्क्षोप्लाज्मा गोन्डी: टोक्क्षोप्लाज्मा परजीवी हो जसले टोक्क्षोप्लामोसिस भन्ने रोग ल्याउँछ। यसको लक्षणमा जोर्नी दुख्ने, आँखा दुख्ने या अस्पष्ट देख्ने, आँखा रातो हुने आदि हुनसक्छ। यसले पनि वृद्ध, गर्भवती महिला, बच्चाहरू, कमजोर पाचनक्रिया भएकालाई बढी असर गर्छ।

काँचो मासु खाना, पशुको बिष्टामा, दुर्गन्धित पानीमा यो पाइन सक्छ। आमा गर्भवती हुँदा यो ब्याक्टेरियाको भएमा नवजात शिशुलाई पनि यसले असर पुर्‍याउँछ। सरसफाइ र उचित तापक्रममा पकाउनु, जनावरको मललाई उचित व्यवस्थापन गरे ब्याक्टेरियाबाट बच्न सकिन्छ।
annapurnapost.com

Write Comment Below:

No comments:

Post a Comment