Monday, August 24, 2015

एमाओवादी अध्यक्ष दाहाल र चिनियाँ सहायक मन्त्री दोउबीच भेटवार्ता

काठमाडौँ, ७ भदौ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका सहायक मन्त्री दोउ इन्योङबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा नेपालको संविधान निर्माण प्रक्रिया पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको थियो ।

भेटमा सहभागी एमाओवादीका महासचिव कृष्णबहादुर महराका अनुसार चिनियाँ पक्षले नेपालको संविधान निर्माणमा भएको प्रगतिबारे चासो राख्नुभएको थियो ।

नेपालको संविधान निर्माण प्रक्रियालाई चीनले सकारात्मक सहयोग र सद्भाव राखेको भन्दै सहायक मन्त्री दोउले अझै सहयोग चाहिए त्यसका लागि आफूहरु तयार रहेको बताउनुभएको थियो । यस्तै भेटवार्ताका अवसरमा दुई पार्टीबीचको सम्बन्ध विस्तारका विषयमा समेत छलफल भएको थियो ।

दुई पार्टीबीच भ्रमण आदानप्रदानलाई बाक्लो बनाउने र जनस्तरसम्म सम्बन्ध विस्तार गर्ने विषयमा कुराकानी भएको महासचिव महराले जानकारी दिनुभयो ।

यसैबीच चिनियाँ टोलीले आजै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँग पनि भेटवार्ता गरेको छ । माओवादीको पार्टी कार्यालय बुद्धनगरमा भएको भेटवार्तामा दुई पार्टीबीचको सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको थियो ।

भेटवार्तामा अध्यक्ष वैद्यले चीन र भारतबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा भएको सहमतिले केही आशङ्का पैदा गरेको भन्दै सो सहमति सच्याउन आग्रह गर्नुभएको उपाध्यक्ष सिपी गजुरेलले जानकारी दिनुभयो ।

विगतदेखि नेपालको सार्वभौसमसत्ताको रक्षा, स्वाधीनतालगायतका विषयमा चीनले खेल्दै आएको सकारात्मक भूमिका आगामी दिनमा पनि कायम हुनुपर्ने सन्दर्भमा छलफल भएको उहाँले बताउनुभयो ।

Write Comment Below:

No comments:

Post a Comment