Wednesday, September 2, 2015

प्रहरी चौकीमा आक्रमण, प्रहरीद्वारा ११ राउन्ड हवाइ फायर

मुगु : गाउँको नियमअनुसार नचलेको भन्दै जरिवाना तोकेका व्यक्तिलाई प्रहरीले संरक्षण गरेको आरोप लगाउँदै मुगु गाउँका गाउँलेले सीमा प्रहरी चौकी मुगुमा गएराति ढुङ्गामुढा गरेका छन् ।

जिल्ला वन कार्यालयबाट कटुकी सङ्कलन पुर्जी लिएका जुम्ला जिल्ला विजय नगरटोल घर भएका सङ्कलक ठेकेदार केसीबहादुर भण्डारीका स्थानीय सम्पर्कवाला मुगु–८ मुगु गाउँका नुन्डुल लामा र सोही गाविस ५ का सोनाम लामाले स्थानीय समुदायभन्दा बाहिरका–जुम्ला र जाजरकोटका सङ्कलक ल्याएर आफ्नो वनमा जथाभावी जडीबुटी सङ्कलन गरेको आरोप गाउँलेले लगाएका थिए ।

गाउँलेले जडिबुटी सङ्कलनको बहानामा घोर चोरी सिकारी गरेको भन्दै तोकेको जरिवाना तिर्न सम्पर्कवालाले नमानेपछि मङ्गलबार दिउँसो उनीहरुका घरमा तोडफोड र कुटपिट गर्न थालेपछि दुवैलाई सुरक्षा दिन प्रहरी चौकीमा राखिएकोपछि राति करिब ३ सय जनाले चौकीमा ढुङ्गामुढा गरेका थिए ।

ढुङ्गामुढाका क्रममा सीमा प्रहरी चौकीका झ्यालढोका, पर्खाल भत्काइ तोडफोड गरिएको छ । ठूलो सङ्ख्यामा आएका गाउँलेको प्रतिकारबाट बच्न प्रहरीले ११ राउन्ड हवाइ फायर गरेको थियो ।

गाउँलेको प्रहारबाट प्रहरी सहायक निरीक्षक रुद्र रावलसहित पाँचजना प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक श्रीहजुर सिलवालले बताए ।

रातभरि तनाव भएपछि गएराति ८ बजे नै प्रहरी निरीक्षक मित्रप्रसाद आचार्यको नेतृत्वमा थप १५ जना प्रहरी पठाइएको छ ।

टोली घटनास्थलमा पुगेपछि स्थलगत मुचुल्का उठाउने र प्रहरी चौकीमा ढुङ्गामुढा गर्न गाउँलेलाई उक्साउने टासी तामाङ, च्यावा तामाङ, पाल्जिर तामाङ, तेन्जिङ तामाङ र पाल्जोर तामाङलाई नियन्त्रणमा लिइ स्थिति सामान्य बनाउन गाउँमा प्रहरीले सहजीकरण गर्ने पनि प्रनाउ सिलवालले बताए ।

ठेकेदार भण्डारीका अनुसार जिल्ला वन कार्यालयबाट राष्ट्रिय वनमा कटुकी सङ्कलनको वैधानिक पुर्जी लगेर जडीबुटी सङ्कलन गरिएको थियो ।

तर राष्ट्रिय वनलाई सामुदायिक वन जस्तो गरेर आफ्ना मान्छेबाट गाउँलेले जरिवाना उठाउन खोजेपछि आफूहरुले दोहोरो दस्तुर तिर्न नमान्दा सुनियोजित रुपमा आक्रमण गर्न थालेपछि स्थिति तनावपूर्ण भएको हो ।

मुगु गाउँस्थित राष्ट्रिय वनमा ८० क्विन्टल कटुकी सङ्कलन गर्न ठेकेदार भण्डारीले सङ्कलन पुर्जी लिएको जिल्ला वन कार्यालयले जनाएको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट २८ कोस पूर्वमा पर्दछ भने पैदलमा दुई दिन लाग्छ । /annapurnapost.comf

Write Comment Below:

No comments:

Post a Comment