Wednesday, September 2, 2015

नेपाली ‘गुगल -बोय’ आदित्य : कति यथार्थ कति भ्रम?

नेपाली गुगल-बोय भनेर पनि चिनिने आदित्य दाहाल उनको असाधारण क्षमताका कारण चर्चित छन्। बिशेष दिमागी अवस्थाका या दिमागी चोट लागेका केही व्यक्तिहरुको विलक्षण गणितीय क्षमता हुन्छ जसलाई सभाण्ट सिन्ड्रोम भनिन्छ। रिपोर्टहरु हेर्दा लाग्छ, आदित्य यस सभाण्ट वर्गमा पर्दैनन्। उनी औसत भन्दा निकै मेधावी तर अरु हिसाबले सामान्य नै लाग्छन्।


उनी भर्खर ५ टेकेका बालक हुन् तर उनी त्यो उमेरका बालबालिकाको तुलनामा निकै फरक र प्रतिभावान देखिन्छन्। पत्रपत्रिका र टिभीका रिपोर्टबाट यति कुरा बुझ्न सकिन्छ कि उनी असाधारण हुन्। यसमा विमति कसैको पनि छैन होला। तर हालै उनको बारेमा कतिपय कुराहरु भने अन्तत: उनैलाई हानी गर्ने गरी उचालिएको छ। हाम्रो समाज साधारणतया अलि लहडे खालको छ र हामी थाहै नपाइ बहकिन्छौ। आदित्यको सन्दर्भमा उनको भलो नाचिताउने कोही पनि छैन होला, तर हामी थाहै नपाई उनलाई अन्याय त गरिरहेका छैनौँ? आउनुहोस् केही चर्चा गरौँ।


हालै अनलाइनमा उनका बारेमा लेखिएका केही हरफहरु अचम्म लाग्ने खालका छन्। यिनै आधारमा अब आउनुहोस् उनीमाथि गरिएका अन्याय केलाउँ।

१) भारतका कौटिल्यले आफुले पढेको देखेको र सुनेको आधारमा ज्ञानको भण्डार विकास गरेका हुन् भने आदित्यले आफूले नदेेखको, नसिकेको, नसुनेको विषयमा पनि जवाफ दिन्छन्।

उनी तिक्ष्ण दिमागका हुन् तर “सुन्दै नसुनेको, नदेेखको, नसिकेको कुरामा ज्ञान” भन्नु अतिरन्जित हो । बालमस्तिष्क बिकासको हालसम्मको अनुभवलाइ यसले सिधै चुनौती दिन्छ, जुन बैज्ञानिक भन्दा पनि प्यारानर्मल क्षमतामा पर्छ । यदि यसलाई प्रमाणित गर्न सक्नुहुन्छ भने जेम्स रयान्डी एजुकेसनल फाउन्डेसनले दस लाख अमेरिकी डलरको पुरस्कार दिन्छ । यत्रो राशीको पुरस्कार किन नथाप्ने ?

२) आदित्यमा क्रमिक रुपमा नभई साढे तीन वर्षको उमेरमा एकाएक यस्तो क्षमता उत्पन्न भएको हो ।
बाल मनोबैज्ञानिकहरुका अनुसार साधारणतया बच्चाहरु ५ महिनाको उमेर भित्र आफ्नो नाम चिन्न सक्छन भने १ बर्षको हुँदा सम्म ५० भन्दा बढी शब्द जान्दछन । १८ देखि २१ महिना तिर उनीहरुमा भाषाको बिष्फोट नै हुन्छ र दिनमै औसत ९ नयाँ शब्दहरु सिक्न सक्छन । हामि औसत बच्चाले बोलेकै सुनेर पनि यति सानो बच्चाले यस्तो कसरि भन्यो होला, या कसरि जान्यो होला भनेर धेरै पटक अचम्मित् परेका हुन्छौं । तर बच्चाहरुको भाषा सिकाइमा उनीहरुको वरपर, घरका हरुले बोलेको कुराले ठुलो असर गरिरहेको हुन्छ । उनीहरु आफ्नो वरपर मान्छेहरु कसरि बोलिरहेका छन्, के को बारेमा बोलिरहेका छन् भनेर सचेत भैरहेका हुन्छन र सिकिरहेका हुन्छन । भाषिक हिसाबले राम्रो र गहन शब्दहरु प्रयोग गरि समसामयिक कुराहरुमा छलफल चलिरहने वातावरणमा हुर्केको बच्चाहरु मा यस्तो भाषाको विकास राम्रो हुन्छ । उनीहरुले बोल्न नजान्दै पनि यति धेरै कुरा सिकिसकेका हुन्छन कि त्यो हामीलाइ अपत्यारिलो लाग्छ । करिब ३ बर्षको उमेर देखि बच्चाहरुले छोटा बाक्यहरु बनाउन सक्ने हुन्छन भने ३ देखि ५ बर्ष सम्ममा कठिन बाक्य मात्र बनाउन सक्ने नभई बाक्यहरुको भाव र अर्थ बुझ्ने र दोहोरो बात-चित गर्नमा निपुण भैसक्छन । यो भाषिक दिमाग बिकासक्रम चाही साधारण बच्चाहरुको हो, या भनौ औसत हो । यसमा पक्कै पनि केहि बच्चाहरुको विकास छिटो र तुलनात्मक हिसाबमा उच्च हुन्छ । आदित्य यस्तै वर्गमा पर्न सक्छन | उनी तिक्ष्ण दिमागका हुन् तर “सुन्दै नसुनेको कुरामा ज्ञान” भन्नु अतिरन्जित हो ।

३) आदित्यको शारिरीक दुर्वलता सुरु भएको केहि समयपछि दिमागी क्षमता उजागर भएको हो । बोल्न पनि नसक्ने उनी लेखेर मात्रै जवाफ दिन सक्छन्।

बालमनोविज्ञले अवलोकन गरेर निष्कर्ष निकाल्दा मात्र जरो कुरा थाह होला, तर एउटा सामान्य अनुमान के पनि लगाउन सकिएला भने — उनको शारीरिक समस्या शुरु हुने, बोल्न गाह्रो हुने समय, र दिमाग तेज नै रही भाषा निपुणताको समय सगै पर्नाले उनको दोहोरो बातचित या सम्बाद लेखाइ को माध्यमबाट प्रस्फुटित भएको हुन सक्छ । यहाँ निर उनको क्षमता असाधारण देखिन्छ । साधारणतया यो उमेरका बच्चाले बोलेर गर्ने दोहोरो सम्बाद लेखेर गर्न सक्नु उनको ठुलो प्रतिभा हो । बोलाईको कमजोरीलाइ पूर्ति गर्न वाक्य-लेखनको क्षमताले असाधारण गति लिएको हुन सक्छ ।

४) तर आदित्य अहिलेसम्म स्कुल भर्ना भएका छैनन् । उनले कसैको सहयोगबिनै एकाएक अक्षरहरु लेख्न थालेका हुन् । आदित्यले नेपाली तथा अंग्रेजीमा मात्रै नभएर जापानी, रसियन, चाइजिन जस्ता भाषामा पनि शब्दहरु लेखेका छन्, जून कौटिल्यको क्षमताभन्दा बाहिरको कुरा हो ।

तपाइहरु मध्य इन्टरनेटको पहुच भएका धेरैका बच्चा-बच्चीले २ वर्ष पनि नहुँदै, आफुले सिकाउंदै नासिकाइ, खरर ABCD गाउने र अक्षर चिन्ने हुन्छन । खासगरी घरमा अरुले फिटिक्क अंग्रेजी नबोले पनि यु-ट्युबमा बच्चाका भिडियो हेर्ने कतिपय ३ बर्षको बच्चाले खरर अंग्रेजी बोलेका पनि होलान । इन्टरनेट भए नभए पनि आदित्यको परिवार शिक्षित भएकोले कहिँ न कहिँ अक्षरहरु को एक्सपोजर भएको हुनु पर्छ । अर्को कुरा, आफ्नै बच्चाहरुलाई राम्रो संग नियाल्नु भयो भने थाह हुन्छ कि धेरै बच्चा हरुमा हिजो अस्ति सम्म नाबोलने, आज फरर बोल्न थाल्छन र १-२ दिन मै भाषा निखारिएर आउछ । यो यति छिटो हुन्छ कि चमत्कार नै लाग्छ । त्यो एकाएक भएको हैन कि त्यतिबेला सम्म भएको भाषिक ज्ञान बोलीको रुपमा प्रस्फुटित भएको हो । लेख्ने कुरामा चाही अघि नै भने जस्तै आदित्य मा छिटो विकास भएको देखिन्छ| शब्द पक्कै लेखे, तर कहीं कतै नदेखी, नसुनी रस्सियन, कोरियन, चाइनिज भाषामा शब्द लेख्ने भन्नु अतिरन्जित हो । उनी जे हुन्, त्यसको कीर्ति गाऔँ , उनी जे हैनन् त्यो उनीमाथि जबर्जस्ति नाथोपरौं ।

५. आदित्य भविष्यका कुराहरु माथि पनि जवाफ दिन्छन् । यद्यपि, पछिल्लो समय सुरक्षा चुनौतिका कारण भविष्यवाणी लेखाउन कम गरिएको छ |
यहाँ निर चाही उनलाई ठुलै अन्याय गरिएको छ । संविधान कहिले बन्छ ? ९ रेक्टर स्केलको भुकम्प आउँछ कि आउदैन ? जस्ता प्रश्न तेर्स्याएर भविष्यवाणी गर्न लगाउनु र त्यो सत्य हुनुपर्ने अपेक्षा गर्नु मुर्खता हो । यसले उनको क्षमता भन्दा पनि हाम्रो अन्ध-बिश्वासलाइ टड्कारो रुपमा प्रकाश पार्छ।

६) शिशु अवस्थामै आदित्यको अध्यात्ममा गहिरो रुची र दख्खल देखिन्छ । उनी मन्दिर जान रुचाउँछन् । धार्मिक अनुष्ठानहरुमा रमाउँछन् । कौटिल्यमा धार्मिक प्रवृत्ति देखिदैन ।

यो पनि अन्याय नै हो । बच्चाहरु सामाजिक संकेत बुझ्न माहिर हुन्छन । वरपरकाले आफुले के गर्दा राम्रो मानेका छन् त्यता तिर रुचि राख्छन । जब त्यो कुरा बारम्बार दोहोरिन्छ, उनीहरुको दिमागी बिकास पनि त्यतैतिर ढल्कदै जान्छ । उनलाई धार्मिक बनाउने कि अरु शिक्षातिर उन्मुख गराउने, त्यो उनको बातावरणले गराउँछ ।

७. आदित्य चेतनामूलक सन्देशहरु खुबै लेख्छन् । आफ्ना सन्देशमा उनी देशको राजनीतिक, सामाजिक र सांस्कृतिक सुधारका लागि बाटो पनि देखाउँछन्।

उनको एक्सपोजर राजनीति र धर्ममा धेरै गरिएको हुदा उनको बोलीचालीमा यस्ता कुराहरु आउनु असाधारण हैन तर ५ बर्षे बालकले चेतना दिनुपर्ने समाज चाही पक्कै असाधारण हो ।

यी त भए अनलाइनमा गरिएका चर्चा । आदित्यको बारेमा गरिएका यस्ता अनेकौ कुराहरुले उनलाई न्याय भएको छ त ? अभिभावकले पनि एक पटक गहिरिएर सोच्नु पर्ने लाग्दछ ।


अन्ध-बिस्वासले गाँजेको हाम्रो समाजमा बालकमा अलौकिक क्षमता भई देबररुपमा प्रकट भएको र उनैले देश र देशबाशीको रक्षा गर्न सक्छन जस्ता भनाइहरु सजिलै बिक्न सक्छन । खासगरी उनलाई उमेर-असंगत प्रश्नै-प्रश्न गर्ने, र दिनहु सत्संग र भजन मण्डलीमा लामालाई जसरी विराजमान गराउँदै जादा उनमा बिचलन नआउला भन्न सकिन्न।

यो कुराको छनक आउँछ “९ रेक्टरको भूकम्प आउँछ कि आउदैन” भन्ने प्रश्न र त्यसको जवाफमा । यस्ता भूकम्प जस्तो कुराको भविष्यवाणी कछुवाले विश्वकपको भबिष्यवाणी गरे भन्दा फरक हुँदैन । तर उनको जवाफ सुनेर अचम्मित परिन्छ । उनले भनेछन्, “आउदैन, म सबैको रक्षा गर्छु” । पक्कै पनि उनले धेरै पटक “रक्षा गर” भनेको सुनेको हुनुपर्छ ।

आदित्यका अभिभावकलाइ यो निर्णय गर्न कठिन पक्कै छ कि छोराको भबिष्यलाइ कता डोहोर्याउने । एकातिर उनको क्षमताले ठुलो नाम र वाहि वाहि भएको छ भने अर्को तिर उनको बालक भएर बस्न पाउने अधिकार कुण्ठित भएको छ, र तिक्ष्ण बुद्धिको दुरुपयोग भएको छ । उनलाई बिस्तारै पढ्ने, ज्ञान भण्डार गर्ने र गणितीय क्षमताको विकास गराउने तिर भन्दा पनि उनलाई धार्मिक र अन्धबिस्वासका कुरा हरु तिर ध्यान केन्द्रित गर्न खोजिदै छ । उनि अहिलेकै हिसाबले लिएर जाने हो भने भोलि गएर गुरु र बाबाको भिडमा एउटा अर्को “बाबा” बन्ने अड्कल गर्न सकिन्छ । उनका अविभावकले यहि चाहन्छन भने कुरा अर्कै हो, यस धारमा लागेर पनि नाम र पैसा भरपुर कमाएका प्रसस्तै देखिएकै छ । तर यसले न त समाजले केहि पाउँछ न त उनको क्षमताको न्याय हुन्छ । सत्य त यो हो कि मनगढ़ंते भविष्यवाणी गर्ने “बाबा” हरुले भन्दा रातो, पहेलो, र हरियो चिन्ह लगाइदिने इन्जिनियरहरुले रक्षा गर्छन भूकम्पमा ।

नाना भाँतीका प्रश्न तेर्स्याएर यो उमेरको द्रुततर बढ्दो दिमागलाइ बिचलित र संकुचित पार्नु पक्कै पनि राम्रो हैन । एउटा उदाहरण लिउँ: २८९ x १५९ = कति हुन्छ जस्ता प्रश्न अप्रत्यासित रुपमा गर्दा पनि प्रश्न भुइमा झरन नपाउंदै उत्तर दिन सक्ने सभाण्ट सिन्ड्रोमले ग्रसित ड्यानियल टामेटले एउटा अन्तर्वार्तामा भनेका रहेछन: “मेरा अभिभावकले मलाइ छिमेकीको लागि चमत्कार देखाउन कहिलै दबाब दिएनन । उनीहरुलाई थाह थियो कि मा फरक थिएँ तर सकेसम्म म सामान्य जीवन जिउन सकूँ भन्ने चाहन्थे” (हेर्नुस). उनी पछि गएर एक ठुला लेखक बने र प्रेरणादायी प्रवचक पनि । आदित्य यो वर्गमा नपरे पनि उनको तिक्ष्ण दिमागलाइ सहि मार्गमा लग्न सके उनको जीवन सजिलो र सार्थक हुन सक्छ । उनको बिलक्षण प्रतिभाको असर राम्रो भएको छ कि उनले शारिरीक उपचार पाउने भएका छन् । उनि जे छन् अरु भन्दा माथि छन् तर हाम्रो रहरले उनलाई जबर्जस्ति अलौकिक देखाइ उनको बालक भएर जिउन पाउनु पर्ने अधिकार खोस्नु पर्ने केहि छैन । अबिभावक, उनको भलो चाहने आफन्त र मिडियाले पनि यो मनन गर्नु पर्ने देखिन्छ । उनि छिट्टै ठिक भएर आउँन् र धेरै पढि देश र समाजको हित गर्न सकुन भन्ने शुभकामना ।

साभार नेपाली क्यानाडा पोष्ट

www.nepaljapan.com

Write Comment Below:

No comments:

Post a Comment