Friday, October 2, 2015

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले के भने ? (पूर्ण पाठ)

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेपालको संविधान निर्माण प्रक्रिया संसारकै उदाहरणीय भएको बताएका छन् ।
संसद बैठकलाई सम्बोधन गर्दै कोइरालाले नेपालमा संविधान निर्माणसँगै आफ्नो कार्यकालमा शान्ति प्रक्रियाका केही महत्वपूर्ण कामहरु पूरा भएको बताए ।
उनले आफ्नो कार्यकालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता खोजविन आयोग बनेको तथा महाभूकम्पमाबाट क्षतिग्रस्त बनेको समयमा पनि उत्कृष्ठ कार्यसम्पादन गरेको दावी गरे ।
आफ्नो कार्यकालमा सुशासनको थालनी भएको, भूकम्पबाट भएको क्षतिपछि पुनःनिर्माण प्राधिकरण गठन सम्बन्धि विधेयक संसदमा विचाराधीन रहेको तथा पुनःनिर्माणबारे दाता सम्मेलन सम्पन्न गरेको उल्लेख गरेका छन् ।
संसदमा उनले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट बनेका दलहरुलाई वार्तामा आउन आग्रह गर्दै संशोधनको माध्यमबाट अघि बढ्न सकिने बताए ।
यस्तै कोइरालाले संविधान निर्माण प्रक्रियामा सहयोगी भूमिका निर्वाह गरेकोमा राष्ट्रपतिलाई आभार प्रकट गर्नुका साथै, संविधानसभामा अध्यक्ष, उपाध्यक्ष, मन्त्रिपरिषदका सदस्यहरु, विभिन्न समितिहरुका सभापति, सभासद, सञ्चारकर्मीसहित सबैलाई धन्यवाद ज्ञापन गरे ।
प्रधानमन्त्री कोइरालाको संबोधनको पूर्ण पाठः
सम्माननीय सभामुख महोदय,
नेपाली जनताको लामो संघर्ष र अथक प्रयत्न पछि जनताका निर्वाचित प्रतिनिधिद्वारा लेखिएको नेपालको संविधान जारी गर्न हामी सफल भएका छौं । यो सुखद् अवस्थामा पुर्‍याउन आफ्नो जीवन बलिदान गर्नुहुने सहिदहरुप्रति म श्रद्धा र सम्मान प्रकट गर्दछु । नेपालको लोकतान्त्रिक आन्दोलनलाई नेतृत्व गर्नुहुने समस्त नेताहरुको आज म सम्मानपूर्वक स्मरण गर्न चाहन्छु ।
सात दशकको संघर्ष र संविधानसभामा करिब ९ बर्षको निरन्तर प्रयास पछि नेपालको संविधान घोषणा भएको छ । यो संविधान लोकतान्त्रिक मूल्य र मानव अधिकारको विश्वव्यापी मान्यताप्रतिको हाम्रो प्रतिबद्धता अनुरुप छ ।
सभामुख महोदय,
संविधानसभाले पारित गरेको हाम्रो संविधान लोकतन्त्रको उच्चतम र सफल अभ्यासको परिणाम हो । यो अभ्यासले एक दशक लामो माओवादी द्वन्द्वलाई शान्तिपूर्ण निकास दियो । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा प्रारम्भ भएको शान्ति प्रक्रियालाई अन्तिम टुङ्गोमा पु¥यायो । जनताको सर्वोपरिता र गणतन्त्रलाई संस्थागत गर्‍यो, संघीयता र समावेशी लोकतन्त्रको सुदृढ आधार तयार गर्‍यो ।
यस संविधानले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक स्वरुप तथा विविधताका बीच एकता खोज्ने समावेशी लोकतन्त्रलाई संस्थागत गर्‍यो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको विद्यमान संरचना र बहुलवादमा आधारित हाम्रो संसदीय लोकतन्त्रले स्वस्थ प्रतिस्पर्धा र संविधान–स्थापित सकारात्मक विभेदको संयोजन गरी हिमाल, पहाड, तराई र मधेशका जनतालाई शासन केन्द्रमा पुर्‍याउने छ ।
सभामुख महोदय,
नेपाल अब पुराना सोंच, संस्कार र संरचनाबाट मुक्त भएर आधुनिक र वैज्ञानिक युगतर्फ लम्कदै छ । आफ्नो निर्णय आफै गर्ने स्वाधीन, स्वतन्त्र, सार्वभौम देश र जनताको पहिचान र इतिहास बोकेर नेपाल अझ सुदृढ राष्ट्रिय एकता, समावेशी लोकतन्त्र र समृद्धिको बाटोतर्फ अघि बढ्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको यो पहिचानले हाम्रा दुवै छिमेकी मित्र राष्ट्र भारत र चीन तथा अन्य मित्र राष्ट्रहरुसंग अझ प्रगाढ मैत्री एवम् पारस्परिक सहयोग सम्बन्ध बलियो बनाउन मद्दत पुर्‍याउने मैले विश्वास लिएको छु ।
हाम्रा सबै मित्र राष्ट्रहरुलाई ऐतिहासिक संविधानसभाका माध्यमबाट नेपालले हासिल गरेका उपलब्धि र अभ्यासलाई हार्दिकतापूर्ण साथ र समर्थन दिएकोमा म समस्त नेपाली जनताको तर्फबाट र स्वयं आफ्नो तर्फबाट धन्यवाद दिन चाहन्छु ।
सभामुख महोदय,
यस संविधानले संघीय लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्नका साथै सामाजिक न्यायका सन्दर्भमा थुप्रै सकारात्मक प्रावधानहरुको व्यवस्था गरेको छ ।
पहिलो पल्ट आवासको हक, खाद्यान्नको हक, दलितको हक, ज्येष्ठ नागरिकको हक, उपभोक्ताको हक र अपराध पीडितहरुको हकलाई संविधानले मौलिकहकका रुपमा स्थापित गरेको छ । हाम्रो संविधान मौलिक हकको संरक्षण र विस्तारका दृष्टिले पनि उच्चकोटीको छ ।
यस बाहेक,महिला,दलित,मधेशी,आदिवासी–जनजाति, थारु, मुस्लिम, र विभिन्न दृष्टिले पछाडि परेका सबै प्रकारका अल्पसंख्यक समुदायलाई यस संविधानले राज्यका संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था गरेको छ ।
संवैधानिक रुपमै पहिलोपल्ट आदिवासी–जनजाती, मधेशी, मुस्लिम र थारु समुदायलाई संवैधानिक आयोगका माध्यमबाट समेत पहिचान, प्रतिनिधित्व र राज्ययन्त्रमा दह्रो पहुँचको विशेष व्यवस्था भएको छ । समावेशी लोकतन्त्रको यी बलिया र गहिरा आधार हुन ।
सभामुख महोदय,
यो संविधान एकातिर समावेशी र प्रगतिशील चरित्रले भरिएको छ भने अर्कोतिर जनआकाङ्क्षा अनुरुप उदार संशोधन प्रक्रियाका माध्यमबाट विकसित हुँदै जाने संभावना समेत यो संविधानले आफूमा अन्तरनिहित गरेको छ ।
संविधानमा समावेश भएका विषयवस्तुका दृष्टिले मात्र होइन संविधान निर्माणमा अंगालिएको विधि र प्रक्रियाका हिसाबले पनि हाम्रो संविधान निर्माण प्रक्रिया उदाहरणीय र प्रतिनिधिमूलक रह्यो ।
संविधानसभाको माध्यमबाट संविधान बनाउने प्रक्रिया आफैमा लामो र चुनौतिपूर्ण पनि हो । एकपटक संविधानसभा संविधान बनाउन असफल भएपछि दोहोर्‍याएर संविधानसभाको निर्वाचन भएको दृष्टान्त प्रायः देखिएको छैन । हामीले दोस्रोपटक पनि संविधानसभाको निर्वाचन गर्‍यौं र संविधानसभा मार्फत नै संविधान निर्माण गर्न सक्यौ ।
सभामुख महोदय,
यो डेढ बर्षभित्र संविधान निर्माणसंगै शान्ति प्रक्रियासंग संबन्धित थुप्रै कामहरु भएका छन । सत्य निरुपण र मेलमिलाप तथा वेपत्ता पारिएकाहरुको छानवीन सम्बन्धी आयोगहरुको विधिपूर्वक गठन र काम प्रारम्भ भएको छ । द्वन्द्व पीडितहरुको लागि राहत र सहयोगका कार्यहरु थालिएका छन् ।
यसै बीच देशको पूर्वाधार र सामाजिक विकासका साथै सुशासनका क्षेत्रमा केही आधारभूत प्रयत्नहरुको थालनी भएका छन् । ऊर्जाको क्षेत्रमा, हवाई यातायातको क्षेत्रमा, सिंचाई, पूर्वपश्चिम रेलमार्ग र सडक यातायातका क्षेत्रमा महत्वपूर्ण आयोजनाहरु अगाडी बढेका छन् । जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षण र विधि निर्माणमा समेत महत्वपूर्ण उपलब्धिहरु भएका छन् । सार्क सम्मेलनको सफल आयोजनादेखि भूकम्पबाट क्षतिग्रस्त हाम्रा संरचना र जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउने दिशामा सरकारले महत्वपूर्ण कार्य सम्पादन गर्न सक्यो ।
भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण र सुरक्षित आवासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन नेपालको पुनर्निर्माण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । पुनर्निर्माण कार्यलाई गति दिन अधिकार सम्पन्न प्राधिकरण बनाउने निर्णय अनुरुप यस सम्बन्धि विधेयक यसै व्यवस्थापिका संसदमा विचाराधीन छ ।
सभामुख महोदय,
केही राजनीतिक दलका साथीहरु संविधान निर्माणको प्रक्रियाका विभिन्न चरणमा संलग्न रहे पनि हाल प्रक्रियाभन्दा बाहिर हुनुहुन्छ । म उहाँहरुलाई वार्ता र संवादमा बसेर विवाद समाधान गर्न आह्वान गर्दछु । यस संविधानलाई थप सुदृढ बनाउने दिशामा हामी साझा मुद्दाको पहिचान र त्यसलाई संविधानको अंग बनाउने दिशामा काम गर्न सक्छौ ।
अन्तरिम संविधान २०६३ को भावना अनुसार समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका संरचनामा प्रतिनिधित्व र सहभागिताको हक वर्तमान संविधानमा सुनिश्चित गर्ने विषयलाई हामी सबैले आत्मसात गरेका छौं । त्यस्तै हिमाल पहाडका दुर्गम भौगोलिक जिल्लाको प्रतिनिधित्व सुनिश्चित गर्दै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय प्रायः हामी सबै राजनीतिक दलले संबोधन गर्नुपर्ने भनी पहिचान गरिएका विषय हुन ।
सभामुख महोदय,
मैले प्रमुख राजनीतिक दलको सहमतिका आधारमा यिनै विषयलाई संविधान संशोधन गरेर समाधान गर्न सकिन्छ भनी संविधानसभालाई आश्वस्त पारेको कुरा स्मरण गराउन चाहन्छु । तीन प्रमुख राजनीतिक दलका तर्फबाट संयुक्त हस्ताक्षर गरी हाम्रो प्रतिबद्धता जनतामाझ समेत पुगीसकेको छ । आदिवासी,जनजाति,थारु मधेशी,मुस्लिम,दलित लगायत सबै आन्दोलनमा उठेको यो साझा विषयलाई संशोधन गर्न मन्त्रिपरिषद्ले संविधान संशोधन विधेयक तयार गरी संसदमा पेश गर्न कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई निर्देशन सहित स्वीकृति प्रदान गरेको छ ।
सभामुख महोदय,
तराई–मधेशमा अहिले भैराखेको आन्दोलनले देश अत्यन्त असहज र कठिन मोडमा आईपुगेको छ । हाम्रो सम्पूर्ण आयात निर्यातलाई प्रभावित गर्ने गरी सीमा नाका बन्द र अबरुद्ध छन् । नेपाली जनता जीवन धान्न आवश्यक सामग्रीको अभाव झेलिरहेका छन् । स्कूल, कलेज र विद्यार्थीको भविष्य प्रभावित भएको छ । उद्योग–धन्दा र व्यापार चौपट भएको छ । किसान र श्रमिकको जीवन कष्टकर बन्दै गएको छ । औषधी र अस्पतालको सेवा प्रत्येक दिन थप कष्टकर हुँदै गएको छ । सञ्चार गृहका प्रकाशन र प्रशारण कार्य प्रत्यक्ष रुपमै प्रभावित भएका छन ।
सभामुख महोदय,
आन्दोलनले हाम्रो सामाजिक सद्भाव, देशको सामथ्र्य र हाम्रो अन्तराष्ट्रिय सम्बन्धमा समेत असर पर्ने परिस्थिति नबनोस् भन्ने तर्फ हामी सबैले सजग रहनु जरुरी देख्दछु । म भारत सरकारसंग समेत नेपालको पारवहन अधिकार र सुविधा प्रयोग गर्न सीमा क्षेत्रमा कुनै किसिमको ढिलाई सिर्जना हुन नदिन हार्दिक आग्रह गर्न चाहन्छु ।
सभामुख महोदय,
आन्दोलनको यो विषम परिस्थितिमा पनि तराई–मधेश र थारु आन्दोलनमा संलग्न पक्ष र दलका नेताहरुसंग आन्दोलनमा उठेका मुद्दाहरुको सम्बोधन गर्न सरकार र तीनदलका प्रतिनिधिहरुले लगातार वार्ता गरिरहनु भएको छ । वार्ताको वातावरण बनाउन सरकारका तर्फबाट आन्दोलनका घाइतेहरुको उपचार,मृतकका परिवारलाई राहत, मुद्दा र गिरफ्तारी फिर्ता गर्ने, कफ्र्यू, दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता गर्ने र सुरक्षा निकायलाई सामान्य जिम्मेवारीमा फर्काउने दिशामा सरकारद्वारा निर्णयहरु भएका छन । आन्दोलनमा उठेका राजनीतिक मुद्दालाई सम्बोधन गर्ने अग्रसरता पनि सरकार र तीन दलबाट लिइएको छ । मलाई विश्वास छ, वार्तामा विकसित पछिल्लो सकारात्मक परिस्थितिलाई परिणाममुखी बनाउन सरकार र आन्दोलनरत पक्ष दुवैको भूमिका महत्वपूर्ण हुनेछ । म आन्दोलनरत पक्षलाई हाम्रो समग्र आपूर्ति व्यवस्था, जनताको जीवन र जीविका तथा समग्र अर्थतन्त्रमा गम्भीर जोखिम पर्ने ढंगको वर्तमान आन्दोलन फिर्ता लिन आह्वान गर्दछु ।
सभामुख महोदय,
संविधानसभाबाट संविधान निर्माण गर्ने यस ऐतिहासिक दायित्व पूरा गर्ने कार्यमा सधै भरी अभिप्रेरित गरिरहनु हुने सम्माननीय राष्ट्रपति डा. रामवरण यादवप्रति आभार प्रकट गर्न चाहन्छु । संविधान निर्माणका कठिनतम् चुनौतिहरुलाई समाधान गर्न अहोरात्र क्रियाशील संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दलका नेतृत्व वर्ग, संविधानसभाका सम्माननीय अध्यक्ष र उपाध्यक्ष, संविधानसभाका विभिन्न समितिका अध्यक्ष एवम् सदस्यहरु, समस्त माननीय सभासद, संविधानसभाका महासचिव लगायत सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, संविधानविद्, मित्रराष्ट्र तथा अन्तराष्ट्रिय समुदाय, सञ्चारकर्मीहरु र समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
मेरो नेतृत्वमा रहेको मन्त्रिपरिषद् र मातहतका सम्पूण निकायलाई यो ऐतिहासिक उपलब्धि सहित मुलुकमा सुशासन कायम राख्न गर्नुभएको सहयोगप्रति धन्यवाद दिन चाहन्छु । न्यायपालिका र संवैधानिक निकायहरुबाट प्राप्त सल्लाह, सुझाव र सहयोगप्रति पनि म आभार व्यक्त गर्न चाहन्छु ।
सभामुख महोदय,
अन्त्यमा,
संविधानसभाबाट संविधान जारी गर्ने कार्यलाई सबै दृष्टिले मद्दत पुर्‍याउने दायित्व बोकेर मैले प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेको थिए तथा संविधानको घोषणा भएपछि पदीय जिम्मेवारीबाट मुक्त हुने सार्वजनिक प्रतिवद्धता समेत प्रकट गरेको थिए । संविधानको विद्यमान व्यवस्था र मेरो सार्वजनिक प्रतिबद्धता अनुरुप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन सम्माननीय राष्ट्रपति महोदयलाई अनुरोध गर्न व्यवस्थापिका संसदको यो बैठक पछि जानेछु ।
धन्यवाद !
जय नेपाल !!
www.nepalsandesh.com

Write Comment Below:

No comments:

Post a Comment