Thursday, October 1, 2015

भिख माग्ने अनौठो काइदा, बिरामी बाबुका लागि यसो गरिन् किशोरीले

सडकमा बसेर माग्ने शैली पनि भिन्न भिन्न हुन्छन् । चीनमा एकजना किशोरीले सडकमा बसेर भिख माग्नका लागि अनौठो तरिका अपनाएकी छिन् । चीनको हेफेइ प्रान्तस्थित सडकमा १५ वर्षकी हाओ डोंगडोंग नामकी किशोरीले आफ्नो अनुहारमा गाइको खप्पर जस्तो मास्क लगाएर भिख माग्ने गरेकी छिन् ।
उनले कुनै रहरले अर्थात् रमाइलोका लागि यसो गरेकी होइनन् । आफ्ना बिरामी बुवाको उपचार खर्च जुटाउनका लागि उनले अनौठो भिखमाग्ने शैली अपनाएकी हुन् ।

उनले पछिल्लो तीन महिनादेखि यसरी भिख मागिरहेकी छिन् । तर ती किशोरीको त्यो दुखप्रति दया गर्ने मानिस खासै देखिएका छैनन् । कतिपयले त ती किशोरीले मागेर खानका लागि यस्तो नाटक गरिरहेको समेत आरोप लगाउने गरेका छन् । एकजना जँड्याहा पुरुषले त उनीमाथि कुटपिट नै गरेको थियो भने एक महिलाले उनलाई वेश्या बन्न सुझाव दिएकी थिइन् ।

बाटो हिँड्ने केटाकेटी तथा युवा युवतीहरु कतिपयले त उनलाई साँच्चीकै गाईलाई जस्तै गरी जिस्काउँछन्, होँच्याउँछन् । उनी माग्न बसेको सडक आसपासका पसलेहरुले त उनको कारण आफ्नो व्यापार बिग्रेको भन्दै उनलाई हट्नका लागि धम्की समेत दिने गरेका छन् ।

ती किशोरीका अनुसार उनका सख्त विरामी बुवाको उपचारका लागि हरेक महिना पाँच हजार युआन खर्च लाग्दछ । त्यसका साथै आफैले कमाएर उनले भाइ तथा बहिनीको स्कुल खर्च समेत तिर्नुपरेको छ । उमेर सानो भएकै कारण उनले वैधानिक रुपमा श्रम गर्न पाउँदिनन्, त्यसैले गुजारका लागि भिख माग्न बाध्य छिन् ।
तीन महिनाअघि आमाले छाडेर गएप्छि बिरामी बुवा तथा भाइबहिनी पाल्ने जिम्मा ती किशोरीमाथि थोपरिएको छ । उनले भिख मागेर दिनमा झण्डै तीन सय युआन जम्मा गर्ने गरेकी छिन् । तर त्यो रकम बुवाको उपचार तथा परिवारको गर्जो टार्नका लागि अपुग रहेको उनी बताउँछिन् ।

गत वर्ष एकजना चिनियाले आफ्नो छोराको उपचारका लागि घोडाको पहिरन गरेर भिख माग्दा छोटो समयमै मनग्गे रकम जम्मा गर्न सकेको घटनाबाट प्रभावित भएकी हाओले सोही जुक्ति अपनाएकी हुन् । तर अहिलेसम्म उनी त्यसमा खासै सफल भने हुन सकिरहेकी छैनिन् ।
-अनलाइन खबर

Write Comment Below:

No comments:

Post a Comment